बसन्त नकर्मी “सुवह” : एक परिचय
बसन्त नकर्मी “सुवह” नेपाली तथा नेवाः साहित्यको एक समर्पित स्रष्टा हुन्, जसको लेखनीमा परम्परा, पहिचान र परिवर्तनको त्रिवेणी बगिरहेको पाइन्छ। वि.सं. २०२६ कार्तिक १० गते मध्यपुर थिमिको बालकुमारी क्षेत्रमा बुवा हीराकाजी नकर्मीको आँगन र माता मोतीमाया नकर्मीको कोखबाट पृथ्वी अवलोकनमा आउनुभएको हो । र उहाँहरुको संगम स्याहारको संस्कार र अनुशासनले आफ्नो व्यक्तित्व निर्माणमा गहिरो प्रभाव पारेको देखिन्छ । उहाँ सांस्कृतिक, भाषिक र ऐतिहासिक चेतनाले भरिपूर्ण परिवेशमा हुर्किनुभयो । यही परिवेशले उहाँको साहित्यिक चेतनालाई प्रारम्भदेखि नै उर्वर बनायो ।
बाल्यकालदेखि नै शब्दप्रति मोह र भावप्रति संवेदनशीलता बोकेका नकर्मीले स्थानीय संस्कार, जात्रा, गुथी परम्परा र नेवाः जीवनशैलीलाई नजिकबाट अनुभूत गर्नुभयो । स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका उहाँका लागि शिक्षा केवल प्रमाणपत्र होइन, जीवन बुझ्ने एउटा माध्यम बन्यो । यही बुझाइले उहाँलाई साहित्यतर्फ अझ गहिरो धरोहरको रुपमा उभ्याएको छ ।
बसन्त नकर्मी “सुवह” को साहित्यिक यात्रा संघर्ष, निरन्तरता र समर्पणको उत्कृष्ट उदाहरण हो । उहाँको लेखनीमा समाजका सूक्ष्म यथार्थता मानवीय संवेदना, सांस्कृतिक पहिचान समयको परिवर्तनशीलता स्पष्ट रूपमा झल्किन्छ ।
वि.सं. २०७५ सालमा पहिलो कृति "सिन्दुरको रङ्गमा इन्द्रेणी" ले आफ्नो वजुद प्रस्तुत गर्नुभएको थियो । आफू समाजको सचेतना र संवाहकको रूप हुँ भन्ने बोध उक्त कृतिले गरेको छ । यो कृति उहाँको साहित्यिक यात्राको महत्वपूर्ण कोसेढुङ्गा हो, जसमा प्रेम, पीडा, संस्कार र सामाजिक यथार्थको गहिरो चित्रण गरिएको छ । शीर्षक नै प्रतीकात्मक छ सिन्दुरको परम्परा र इन्द्रेणीको बहुरङ्गी भावनालाई जोड्दै जीवनको विविध आयामलाई प्रस्तुत गरिएको छ ।
उहाँको साहित्यिक योगदानलाई विभिन्न समयमा विभिन्न संस्थाहरूले सम्मानित गरेका छन । ती सम्मानहरू केवल पुरस्कार होइनन्, उहाँको निरन्तर साधना र प्रभावको प्रमाण हुन् । जीवन यात्रामा विभिन्न आभुषणले आफूलाई थेम्मृङ कवि सम्मान वि.सं. २०६० सालमा, मध्यपुर थिमि र नेपाल भारत साहित्य महोत्सव सम्मान वि.सं. २०७८ सालमा सुसज्जित पार्नुभएको छ । यस्तै अक्षरमार्ग दुर्गाजगत काव्य सम्मान वि.सं. २०७९ सालमा, पनौती काभ्रेद्वारा र सूचक सम्मान वि.सं. २०८० सालमा काठमाडौंद्वारा पनि आफू योग्य छु, सक्षम छु भन्ने सन्देश प्रवाह गर्नुभएको छ । यस्तै यस्तै अन्य हलिं नेवाः गुथि “नेवाः च्वमि हना” ने.सं. ११४५, यें, र वि.सं. २०८२ सालमा ख्वपः नकःमि सम्मान भक्तपुरद्वारा सम्मानित हुनुभएको थियो । र वि.सं. २०८२ सालमा बागमती कवि सम्मान ललितपुरद्वारा सम्मान प्राप्त गरि आफू पृथ्वी अवलोकनको यथार्थता वर्णन गर्नुभएको छ । यी सम्मानहरूले उहाँलाई केवल स्रष्टा मात्र होइन, सांस्कृतिक प्रतिनिधिको रूपमा स्थापित गरेका छन ।
हुन त जीवन संघर्षको पाटोबाट हेर्दा उहाँको प्रतिभा केवल सिर्जनामा सीमित नभई प्रतिस्पर्धात्मक क्षेत्रमा पनि प्रस्ट देखिन्छन । विविध भाषा साहित्य सम्मेलन २०७० र २०७३ सालमा द्वितीय र विविध भाषा साहित्य सम्मेलन २०७१ सालमा प्रथम स्थान हासिल गर्नुले सिद्धता केवल शब्द होइन भन्ने कुरालाई चरितार्थ पनि गर्नुभएको छ । संस्मरण कथा प्रतियोगिता २०५२ सालमा रेडियो नेपालद्वारा उत्कृष्ट घोषणा हुनु आफैलाई जित्नु हो । यी उपलब्धिहरूले उहाँको बहुआयामिक लेखन क्षमतालाई प्रमाणित गर्नु सूर्य अगाडि मैनबत्ती बाल्नु आवश्यक छैन भन्नु हो ।
बसन्त नकर्मी “सुवह” को लेखनमा एउटा स्पष्ट दर्शन पाइन्छ कि साहित्य केवल शब्द होइन, समाजको आत्मा हो । उहाँका रचनाहरूमा परम्परा र आधुनिकताको द्वन्द्व एवम् पहिचानको खोज, सांस्कृतिक संरक्षणको आग्रह, मानवीय संवेदनाको गहिराइ स्पष्ट देखिन्छन । उहाँ विशेषगरी नेवाः समुदायको भाषा, संस्कार र जीवनशैलीलाई साहित्यमार्फत जोगाउने अभियानमा सक्रिय देखिनुहुन्छ।
हाल मध्यपुर थिमि स्थित शंखधरचोक क्षेत्रमा बसोबास गर्दै उहाँ निरन्तर साहित्य सिर्जना, सांस्कृतिक अभियान र सामाजिक चेतनाका कार्यक्रममा सक्रिय हुनुहुन्छ । उहाँले एकमुखी रुद्राक्षको रूपमा अरुणा नकर्मीज्यूलाई धारण गर्नुभएको छ । आफ्नो सुखदुःख बराबरी बनाउन जीवन उर्जा स्रोत अरुणा नकर्मीज्यूलाई मान्नुहुन्छ ।
अन्तमा, बसन्त नकर्मी “सुवह” एक स्रष्टा मात्र होइन, उहाँ समयका साक्षी, संस्कृतिका संवाहक र भावनाका अनुवादक हुन् । उहाँको जीवनले देखाउँछ कि शब्दले समाज बदल्नसक्छ भने स्रष्टाले इतिहासलाई जीवित राख्नसक्छ भन्ने कुरालाई चरितार्थ गर्न योगदान र कार्य व्यस्ततालाई यसरी स्मरण एवम् चित्रण गर्नसकिन्छ ।
संस्थागत रूपमा उहाँले विभिन्न सामाजिक तथा साहित्यिक संघसंस्थाहरूमा संस्थापक, सदस्य तथा पदाधिकारीको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँ लियो क्लब अफ सुर्यविनायक भक्तपुरमा वि.सं.२०४७ तथा ठिमी जेसीजमा वि.सं. २०४९ सालमा उक्त संस्थापकका सदस्य हुनुहुन्छ । साथै, वि.सं. २०५४ मा प्रकाशित “डबली” साहित्यिक मासिक पत्रिकाको प्रकाशक तथा सम्पादकको रूपमा कार्य गर्दै साहित्यिक क्षेत्रमा योगदान दिनुभएको थियो । उहाँ मध्यपुर साहित्य केवका संस्थापक अध्यक्ष हुनुका साथै हलिं नेवाः गुथिमा कचा नायःको रूपमा संलग्न रहनुभएको छ ।
हाल उहाँ विभिन्न संस्थाहरूमा मानार्थ, विशिष्ट तथा आजीवन सदस्यको रूपमा सक्रिय हुनुहुन्छ । मानार्थ सदस्यका रूपमा अक्षरमार्ग त्रैमासिक, पनौती, काभ्रे तथा कविताया लायकू थापाथलीमा आबद्ध हुनुहुन्छ । विशिष्ट सदस्यका रूपमा भक्तपुर साहित्यिक समाज हाल कार्य समिति सदस्यमा योगदान दिइरहनुभएको छ । साथै उहाँ चाँगुनारायण साहित्यिक समाजका आजीवन सदस्य एवम् पूर्व कोषाध्यक्ष तथा राष्ट्रिय शंखधर प्रतिष्ठान, रेडक्रस सोसाइटी, हलिं नेवाः गुथि यें, केन्द्रीय ज्यासना पुचः, लेखक संघ भक्तपुर, उपाध्यक्ष तथा आदर्श स्कुल एस.एल.सी. ब्याच २०४१ का उपाध्यक्ष हुनुका साथै आजीवन तथा नेतृत्वदायी भूमिकामा संलग्न हुनुहुन्छ ।
अनुभवका दृष्टिकोणले, चालिसकाे मध्य दशकमा रेडियो नेपालद्वारा गीतिकथा र युवा संसार कार्यक्रममा दर्जनौ कथा र कविताहरू प्रसारण गरेर आफ्नो दक्षता प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, उहाँले रेडियो नेपाल सिंहदरबार अन्तर्गत एफएम १०० मेगाहर्जमा वि.सं. २०५५ देखि २०५७ सम्म करिब तीन वर्ष मध्यपुर ठिमी नगरपालिकाका संयोजक तथा रिपोर्टरका रूपमा कार्य गर्दै “मध्यपुर थिमि, हाम्रो सम्पत्ति” नामक विद्युतिय मिडियाको पहिलो कार्यक्रम उत्पादक तथा प्रस्तोताका रुपमा सञ्चालन गर्नुभएको थियो । साथै “थेम्मृङ” मासिकमा दुई वर्ष स्तम्भकार, ठिमी जेसीजमा वि.सं. २०५१ सालमा सम्पादक, तथा वि.सं. २०७८ मा “त्रिगुण” समसामयिक सङ्गालोको सम्पादकको रूपमा पनि उहाँको सक्रिय योगदान रहेको छ । उहाँका योगदान र अनुभवले साहित्य क्षेत्रका एक चम्किला तारा हुन् जसको दिशानिर्देशले समाजले गति लिनेछ भन्नेमा विश्वस्त हुनसकिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर