पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशभर वर्षा, चट्याङ र हिमपातको सम्भावना


काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षासमेत भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानसहित मधेस प्रदेश तथा अन्य हिमाली–पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई जिल्लाका केही स्थानमा हुरीबतास, असिना तथा चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया