रकम खाएको आरोप कि भाग नपुगेको रिस? इन्स्पेक्टरको कुटाइमा हवल्दार


अामा दर्शन न्यूज | २०८२ बैशाख ३१, काठमाडौं

काठमाडौंको नागढुंगामा एक असाधारण घटना सार्वजनिक भएको छ, जसले ट्राफिक प्रहरी संगठनभित्रको अनुशासन र आन्तरिक अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले आफ्नै मातहतमा कार्यरत सहायक हवल्दारलाई सडकमै कुटपिट गरेका छन्।

बुधवार (बैशाख ३१) को बिहान घटेको यो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा इन्स्पेक्टर साहले सार्वजनिक सडकमा सहायक हवल्दारलाई चड्कन हानेको स्पष्ट देखिन्छ।


प्रारम्भिक जानकारी अनुसार, कुटपिटमा परेका हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए। आरोप छ कि ती हवल्दारले ट्रक चालकसँग अवैध रूपमा रकम लिएका थिए, जसपछि इन्स्पेक्टर साहले आक्रोशमा आएर यस्तो व्यवहार गरेका हुन्।

तर घटनाको पछाडि ‘रकम खाएको’ आरोप मात्र नभई ‘भाग नपुगेको’ रिस पनि हुनसक्ने भन्दै विभिन्न अड्कलबाजी भइरहेका छन्। ट्राफिक प्रहरी संगठनभित्र हुने सम्भावित अवैध लेनदेन र त्यसको बाँडफाँटमा हुने विवादको यो एउटा उदाहरण हुनसक्ने विश्लेषकहरूको भनाइ छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपक गिरीले घटनाबारे बुझ्ने काम भइरहेको जानकारी दिएका छन्। उनले भने, “इन्स्पेक्टर र जुनियर प्रहरीबीच विवाद भएको देखिन्छ, घटनाको अध्ययन थालिएको छ।”


यस घटनाले ट्राफिक प्रहरी संगठनको पारदर्शिता, अनुशासन र आन्तरिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरी संगठनले यसको निष्पक्ष छानबिन गरी सार्वजनिक जवाफ दिने अपेक्षा गरिएको छ।

अामा दर्शन न्यूज – तपाईँको आवाज, हाम्रो संकल्प

प्रतिक्रिया