नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ले आजदेखि अधिकमास अर्थात् मलमास सुरु भएको जनाएको छ। समितिका अनुसार यो अवधि आगामी असार १ गतेसम्म रहनेछ।
वैदिक ज्योतिषीय गणनाअनुसार सौर वर्ष र चान्द्र वर्षबीचको समयान्तर मिलाउन करिब प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा अधिकमास पर्ने गर्दछ। एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै सङ्क्रान्ति नपरेको महिनालाई अधिकमास वा मलमास भनिने शास्त्रीय मान्यता रहेको ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेल ले जानकारी दिए।
उनका अनुसार चान्द्र महिनाभित्र दुई वटा सङ्क्रान्ति परेमा त्यसलाई ‘क्षयमास’ भनिन्छ। ज्योतिषाचार्य भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणि मा अधिकमास र क्षयमासको स्पष्ट व्याख्या गरेका छन्।
पोखरेलका अनुसार क्षयमास अत्यन्त दुर्लभ रूपमा पर्ने गर्दछ। पछिल्लोपटक २०२० सालमा क्षयमास परेको उल्लेख गर्दै उनले कार्तिक, मङ्सिर र पुस महिनामा यस्तो योग बढी देखिने बताए। माघ महिनामा भने अधिकमास र क्षयमास दुवै नपर्ने धार्मिक मान्यता रहेको छ।
धार्मिक ग्रन्थ पुरुषोत्तममास माहात्म्य अनुसार मलमासलाई भगवान् श्रीकृष्णले “पुरुषोत्तम मास” नाम प्रदान गरेको उल्लेख छ। देवता नभएको कारण उपेक्षित भएको मलमासलाई भगवान् श्रीकृष्णले आफ्नो नामसँग जोडेर पवित्र बनाएको विश्वास गरिन्छ।
धर्मशास्त्रविद् तथा समितिका सदस्य देवमणि भट्टराई का अनुसार अधिकमासमा नित्य पूजा, जप, ध्यान तथा नियमित व्रत गर्न सकिन्छ। तर नयाँ व्रत सुरु गर्नु, विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहनिर्माण जस्ता माङ्गलिक कार्य भने गर्न नहुने धार्मिक परम्परा रहेको उनले बताए।
यस अवधिमा गर्भाधान गर्न नहुने मान्यता पनि प्रचलित छ। नवविवाहित दम्पतीले मलमास छल्ने परम्परा पनि यही विश्वाससँग सम्बन्धित रहेको धर्मशास्त्रीय व्याख्या छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय