नागर्जुन, काठमाडौं — Aama Darshan News | २०८२ बैशाख २७, शनिबार
कवि सुनिल डुङ्गाना “चाचु” द्वारा रचित कविता संग्रह “निल काँडा झाङ” को विमोचन समारोह शनिबार बिहान नागर्जुन नगरपालिका–६, टो* खेल स्थित ज्योति आधारभूत विद्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा नागर्जुन नगरपालिका वडा नं. ६ का अध्यक्ष देबिन्द्र गिरि प्रमुख अतिथि रहनुभएको थियो। साथै वडा सदस्यहरू हम्जुला राइ (सदस्य १) र मुकुन्द बहादुर सुबेदी (सदस्य २) को गरिमामय उपस्थिति पनि उल्लेखनीय रह्यो।
विद्यालयका शिक्षकगण, अभिभावक, विद्यार्थी, समाजसेवी तथा स्थानीय साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विविध साहित्यिक गतिविधिहरू सम्पन्न भए।
कार्यक्रममा सामाजिक अभियन्ता केशव श्रेष्ठले कवि डुङ्गानाको बाल्यकालदेखि हालसम्मको साहित्यिक यात्रालाई स्मरण गर्दै उहाँको सृजनशीलता, संघर्ष र साहित्यप्रतिको समर्पणको प्रशंसा गर्नुभयो।
त्यसैगरी, प्रख्यात लेखक एवं समीक्षक एच. भी. खत्री (HB Khatri) ले “निल काँडा झाङ” मा संकलित कविताहरूको गहिरो विश्लेषण प्रस्तुत गर्दै तिनमा अभिव्यक्त विचार, संवेदना र सामाजिक दृष्टिकोणको प्रशंसा गर्नुभयो। उहाँले यस पुस्तकले समकालीन नेपाली कवितामा नवीनता ल्याउने विश्वास व्यक्त गर्नुभयो।
समारोहको विशेष आकर्षणको रूपमा आयोजना गरिएको पुस्तक आदान–प्रदान कार्यक्रमले सर्जकहरू बीच आपसी सम्मान, साहित्यिक सहकार्य र संवादको वातावरण सिर्जना गर्यो।
अन्त्यमा, वडा अध्यक्ष देबिन्द्र गिरिले समापन मन्तव्य दिँदै कवि डुङ्गानाको प्रयासको प्रशंसा गर्नुभयो र यस्ता कार्यक्रमहरूले समाजमा साहित्यप्रतिको रुचि बढाउने र सिर्जनशीलतालाई उत्प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा Aama Darshan News का समाचार प्रकाशक (News Publisher) सूर्य बहादुर राय (Surya) स्वयं उपस्थित भई प्रत्यक्ष रिपोर्टिङ, समाचार संकलन र समन्वयमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता