काठमाडौं । अमेरिकाका राष्ट्रपति Donald Trump ले अमेरिकी र नाइजेरियाली सेनाको संयुक्त अभियानमा आईएसआईएसका विश्वस्तरीय शीर्ष नेता अबु-बिलाल अल-मिनुकी मारिएको दाबी गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै अबु-बिलाल अल-मिनुकी आईएसआईएसको विश्वव्यापी संरचनामा दोस्रो उच्च अधिकारी रहेको बताएका हुन्। उनले उक्त अभियानलाई “अत्यन्त जटिल र योजनाबद्ध सैन्य कारबाही” को संज्ञा दिएका छन्।
ट्रम्पका अनुसार अमेरिकी सेना र नाइजेरियाली सुरक्षाकर्मीले संयुक्त रूपमा सञ्चालन गरेको अभियान अफ्रिकाको लेक चाड क्षेत्र आसपास केन्द्रित थियो। उनले अल-मिनुकी अफ्रिकामा लुकेर बसे पनि अमेरिकी गुप्तचर स्रोतहरूले उनका गतिविधिमाथि निरन्तर निगरानी राखेको बताएका छन्।
ट्रम्पले भनेका छन्, “अब उनले अफ्रिकाका नागरिकलाई त्रसित बनाउन वा अमेरिकीहरूमाथि आक्रमणको योजना बनाउन सक्ने छैनन्।” साथै, उनको मृत्युले आईएसआईएसको विश्वव्यापी सञ्जाल कमजोर बनेको दाबी पनि ट्रम्पले गरेका छन्।
नाइजेरियाका राष्ट्रपति Bola Ahmed Tinubu ले पनि उक्त कारबाही सफल भएको पुष्टि गर्दै अल-मिनुकीसँगै उनका केही सहयोगीहरू पनि मारिएको बताएका छन्।
अमेरिकी प्रशासनले अल-मिनुकीलाई सन् २०२३ मै ‘वैश्विक आतंककारी’ सूचीमा राखेको थियो। उनी पश्चिम अफ्रिका र साहेल क्षेत्रमा आईएसआईएसका गतिविधि समन्वय गर्ने प्रमुख व्यक्तिका रूपमा चिनिन्थे।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क