म इतिहास लेख्न हिडेको हुँ ।

“म जीवनी लेख्न हिँडेको होइन, इतिहास लेख्न हिँडेको हुँ । मेरो गर्दन त्यहीँ छ, हतियार चलाउँदा हुन्छ ।” यो केवल एउटा वाक्य होइन, यो चुनौती, विद्रोह, साहस र परिणाम स्वीकार गर्ने मनोविज्ञानको उद्घोष हो ।

केही मानिसहरू जन्मन्छन शान्त जीवन बाँच्नका लागि । केही मानिसहरू जन्मन्छन समयसँग सम्झौता गर्न । तर केही मानिसहरू यस्ता पनि हुन्छन जो समयसँग टक्कर लिन जन्मिएका हुन्छन ।

रबि लामिछाने त्यस्तै एउटा नाम हो, जसले नेपाली समाजमा केवल सञ्चारकर्मीको भूमिका मात्र निभाएन, उसले जनता र सत्ताबीच दबिएको आवाजलाई सडकसम्म ल्यायो । उसले प्रश्न सोध्यो त्यहाँ, जहाँ प्रश्न सोध्नु नै अपराध मानिन्थ्यो । उसले बोल्यो त्यहाँ, जहाँ मौनतालाई संस्कार भनिन्थ्यो ।

टेलिभिजनको पर्दाबाट सुरु भएको एउटा स्वर, विस्तारै आक्रोश बनेर जनताभित्र फैलियो किनकि त्यो स्वर स्क्रिप्टले होइन, पीडाले लेखिएको थियो । उसले केवल समाचार प्रस्तुत गरेन, उसले त समाजको अनुहार देखायो । भ्रष्टाचारको पर्दा हटायो । सत्ताको सुविधा माथि जनताको पीडा राख्यो । त्यसैले उसको यात्रा सजिलो कहिल्यै भएन । जब मानिस भीडको प्रिय बन्छ, ऊ सत्ताको शंकाको पात्र पनि बन्छ । उसको हरेक कदममाथि प्रश्न उठे । उसको हरेक अभिव्यक्तिमाथि हमला भयो । तर उसले बारम्बार एउटा कुरा देखायो, “डरभन्दा ठूलो उद्देश्य हुन्छ ।”

“म जीवनी लेख्न हिँडेको होइन, इतिहास लेख्न हिँडेको हुँ” यो वाक्यमा एउटा मानिसको महत्वाकांक्षा मात्र छैन । यसमा एउटा पुस्ताको बेचैनी लुकेको छ किनकि जीवनी त धेरैले लेख्छन- जन्म, संघर्ष, सफलता र अन्त्यको कथा । तर इतिहास उनीहरूले लेख्छन जसले आफ्नो समयलाई हल्लाइदिन्छन । इतिहास लेख्ने मानिसहरू सधैं सुरक्षित हुँदैनन । उनीहरू विवादमा पर्छन । घेराबन्दीमा पर्छन । कहिलेकाहीँ आफ्नै शब्दको मूल्य आफ्नै जीवनले तिर्नुपर्छ । त्यसैले जब कसैले भन्छ, “मेरो गर्दन त्यहीँ छ, हतियार चलाउँदा हुन्छ” त्यो अभिव्यक्ति केवल आक्रोश होइन, परिणाम स्वीकार गर्ने साहस पनि हो । आज नेपालको राजनीति, सञ्चार र सामाजिक चेतनामा रवि लामिछाने एउटा बहस बनेका छन ।

कसैले उनलाई आशा देख्छ । कसैले जोखिम । कसैले विद्रोह । कसैले आवेग । तर एउटा कुरा अस्वीकार गर्न कठिन छ  कि उसले नेपाली समाजलाई उदासीन बस्न दिएन । उसको यात्रा सफल वा असफल के हुन्छ, त्यो भविष्यले लेख्ला । तर उसले एउटा पुस्तालाई बोल्न सिकाएको तथ्य इतिहासले मेटाउन सक्दैन किनकि समय बितेपछि मानिसहरू नाम मात्र सम्झँदैनन, उनीहरूले त्यो साहस सम्झन्छन जसले डरको बीचमा उभिएर भनेको थियो, “म जीवनी होइन, इतिहास लेख्न निस्किएको हुँ ।”

प्रतिक्रिया