“लोकतन्त्र अधिकारको उत्सव मात्र होइन, जिम्मेवारीको परीक्षा पनि हो ।”

“क्यालेन्डर फेरिनु प्रगति होइन, चेतना फेरिनु नै सभ्यताको सुरुवात हो ।”

सफा घरभित्र दुईवटा टेबुल थिए । एउटामा नेपाली भित्तेपात्रो थियो— जसले देखाइरहेको थियो, नेपाली पात्रो अनुसार २१०० साल आउन अब केवल ६१७९ दिन बाँकी छन् । त्यति नै रात पनि बाँकी छन् । अर्थात् समयको हिसाबले हामी २१०० सालको ढोकामै उभिएका छौं ।

अर्को टेबुलमा AD क्यालेन्डर थियो । त्यसले भने 2100 साल आउन अझै 27245 दिन र रात बाँकी रहेको देखाइरहेको थियो ।

दुवै टेबुलमा केही समान वस्तु थिए— दुई मानिस, चम्चाकाटा, टिस्यु पेपर र नूनदानी । समय आफ्नो गतिमा दौडिरहेको थियो । पल–पल एक्काइसौं शताब्दीबाट अझ अगाडिको युगतर्फ संसार अघि बढिरहेको थियो ।

बाहिरको मौसम मनमोहक थियो । प्रकृतिमा केही खुइलावट देखिए पनि उसले आफ्नो धर्म छोडेकी थिइन । घाम उदाउनु, साँझ पर्नु, रात आउनु— सबै सामान्य थियो । समयले आफ्नो नियम तोडेको थिएन ।

यति बेला दुवै टेबुलमा अर्डर गरिएको खाना आयो । दुवैको खाना एउटै थियो ।

AD क्यालेन्डर भएको टेबुलमा बसेको मानिसले चुपचाप खाना खायो, आवश्यक परे नून प्रयोग गर्‍यो, टिस्यु उपयोग गर्‍यो, पैसा तिर्‍यो र शान्तसँग उठेर गयो ।

तर नेपाली पात्रोको २१०० साल नजिकिएको टेबुलमा बसेको मानिसले भने सुरुमा नै “चम्चाकाटा खोइ ?” भन्ने प्रश्न गर्‍यो । चम्चाकाटा पाएपछि खान थाल्यो, तर स्वादकै कारण “छ्या” भन्ने शब्द प्रयोग गर्‍यो । टेबुलमै रहेको नूनदानी किन राखिएको थियो भन्ने चेतनासम्म ऊ पुगेको थिएन । टिस्यु कसरी र किन प्रयोग गर्ने भन्ने व्यवहारिक ज्ञान पनि उसमा देखिएन ।

भुक्तानी गर्ने बेला उसले धन्यवाद दिनुभन्दा गुनासो धेरै गर्‍यो । छुट हुनुपर्थ्यो, सेवा यस्तो उस्तो भयो, आफ्नै कुरा मात्र ठूलो हो भन्ने व्यवहारमा ऊ सीमित रह्यो । त्यही दृश्यले एउटा गम्भीर प्रश्न जन्माउँछ कि के हामी साँच्चै २१०० सालका लागि तयार छौं ?

क्यालेन्डरले मात्र समय बदलिन्छ, चेतना बदलिँदैन । साल फेरिनु र समाज फेरिनु एउटै कुरा होइन । आज हामी नेपालीहरू २१०० सालबाट केवल ६१७९ दिन टाढा छौं, तर व्यवहारमा अझै धेरै पछि छौं ।

हामीले समयको मूल्य सिकेका छैनौं । हामीले अन्नको सम्मान गर्न सिकेका छैनौं, जुन हाम्रो शरीरभित्र ऊर्जा बनेर जीवन दिन्छ ।

हामीले अधिकारको अर्थ बुझेका छैनौं, कर्तव्यको गहिराइ झन् कम बुझेका छौं । कानून, समाज, पहिचान र सभ्यताको सम्बन्धलाई अझै स्वार्थको आँखाबाट मात्र हेर्ने प्रवृत्ति बाँकी छ ।

हामी लोकतन्त्र र गणतन्त्रको नारामा गर्व गर्छौं, तर देशतन्त्रलाई बेवास्ता गर्दै स्वार्थतन्त्रलाई मुख्यतन्त्र बनाइरहेका छौं । सिद्धान्तको नाममा अपराधलाई ढाक्ने, झुटलाई प्रचारमा बदल्ने र भ्रमलाई राजनीति ठान्ने प्रवृत्तिले देखाउँछ कि हामी क्यालेन्डरमा २१०० नजिकिए पनि चेतनामा अझै धेरै टाढा छौं । समय परिवर्तन चाहने हो भने व्यवहार परिवर्तन गर्नुपर्छ । टेबुलमा राखिएको नूनदानीको अर्थ नबुझ्ने चेतनाले केवल खानाको स्वादलाई दोष दिन्छ, तर सुधारको सम्भावना आफूभित्र खोज्दैन ।

२१०० साल मनाउन पात्र बन्नु केवल नयाँ साल पर्खिनु होइन । त्यसका लागि सोच बदल्नुपर्छ, संस्कार बदल्नुपर्छ, जिम्मेवारी बुझ्नुपर्छ । नत्र हामीले २१०० साल त देखौंला, तर २१०० सालले खोजेको मानिस बन्न सक्दैनौं । अत: “व्यवस्था बदल्नुअघि व्यवहार बदलिनुपर्छ । अन्नको स्वादभन्दा पहिले अन्नको सम्मान सिक्नुपर्छ ।”

प्रतिक्रिया