ध्यानाकर्षण

ध्यानाकर्षण : 

परिवर्तनको आशा, विश्वास र जनमतको बलमा छोटो अवधिमै प्रतिनिधि सभामा उल्लेखनीय सफलता हासिल गरेकोप्रति जनताले ठूलो अपेक्षा राखेका छन । तर पछिल्लो करिब डेढ महिनाको अवधिमा केही स्थानिय कार्यकर्ताहरूको गतिविधि हेर्दा जनस्तरमा गम्भीर चिन्ता व्यक्त हुन थालेको देखिन्छ ।

विगतमा देखिएका बल, धाकधम्की, संगठनको पहुँच देखाउने प्रवृत्ति, सामाजिक उत्तरदायित्वभन्दा शक्ति प्रदर्शनलाई प्राथमिकता दिने व्यवहार, तथा सामूहिक छलफलमा असहिष्णुता झल्किने गतिविधिले “नयाँ राजनीति” को मूल उद्देश्य माथि नै प्रश्न उठाउन थालेको छ ।

राजनीति केवल भीड, नाराबाजी वा प्रभाव देखाउने माध्यम होइन । राजनीति भनेको संस्कार, संयमता, स्पष्ट दृष्टिकोण, जनउत्तरदायित्व र दीर्घकालीन सोचको अभ्यास हो । यदि नयाँ शक्तिले पनि पुरानै शैली दोहोर्याउने हो भने जनताले परिवर्तनको नाममा अर्को निराशा मात्र भोग्नुपर्ने अवस्था आउन सक्छ ।

समयमै आत्मसमीक्षा आवश्यक छ । संगठनभित्र अनुशासन, राजनीतिक संस्कार, सामाजिक संवेदनशीलता र जिम्मेवार व्यवहारलाई प्राथमिकता दिन सकिएन भने जनताको भरोसा क्रमशः कमजोर हुँदै जानेछ । जनताले आफ्नो समर्थन अन्धविश्वासका आधारमा होइन, आशा र अपेक्षाका आधारमा दिएका हुन् भन्ने कुरा बुझ्न जरुरी छ ।

अन्तमा, चेतावनी स्पष्ट छ कि  जनताको धैर्यलाई कमजोरी नठानियोस् । सत्ता वा लोकप्रियता स्थायी हुँदैन । व्यवहार नसुध्रिए, अहंकार र दबाबको राजनीति जारी रहे, भने २०८४ मा जनता आफैंले आफ्नो निर्णयमार्फत स्पष्ट सन्देश दिनेछन । लोकतन्त्रमा अन्तिम शक्ति जनता नै हुन्, र जनताको फैसला सधैं निर्णायक हुन्छ ।

प्रतिक्रिया