स्थानीयस्तरबाटै डाइलसिस मेसिन
कीर्तिपुर मानव समाजको अत्यन्त पुरानो बस्ती हो । सभ्यता, संस्कृति, सहअस्तित्व र मानवीय सम्बन्धको इतिहास बोकेको यो भूमि आज पनि आफ्नै मौलिक पहिचानसहित उभिएको छ । तर पछिल्ला दिनहरूमा स्थानीय सरकारको रवैया हेर्दा “यो मानवता भएको बस्ती हो कि मानवता हराउँदै गएको बस्ती ?” भन्ने चिन्तनयुक्त प्रश्न सिर्जना हुन थालेको छ । विशेषतः मानव स्वास्थ्यजस्तो संवेदनशील विषयमा देखिएको उदासीनताले जनतामा गम्भीर चिन्ता पैदा गरिरहेको छ ।
हिजो यही कीर्तिपुर क्षेत्रमा एम्बुलेन्स सेवा नहुँदा उपचारका लागि साधन अभावले जनताले असह्य पीडा खेप्नुपरेको यथार्थ हाम्रो सामु अझै ताजा छ । त्यही समस्यालाई मध्यनजर गर्दै नयाँ बजार क्लबले प्रतिघरधुरी रु. १००/- संकलन गरेर एम्बुलेन्स सेवाको व्यवस्था गरेको थियो । त्यो केवल एउटा सेवा मात्र थिएन, त्यो मानवीयता, जिम्मेवारी र सामाजिक चेतनाको उदाहरण थियो । त्यसका लागि सम्पूर्ण कीर्तिपुरवासीले नयाँ बजार क्लबप्रति सम्मान, स्वागत र धन्यवाद व्यक्त गर्नैपर्छ । म स्वयं पनि त्यस सेवाको ऋणी छु, जुन ऋण सायद कहिल्यै तिर्न सकिँदैन । त्यसकारण सम्पूर्ण क्लब, त्यसका शुभचिन्तक तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै केही गम्भीर विषय अगाडि राख्न चाहन्छु ।
कीर्तिपुर पुरानो बस्ती मात्र होइन, नेपालकै पुराना नगरपालिका मध्येको एक हो । तर यहाँ जनप्रतिनिधिहरूको दूरदृष्टिको कमी, राजनीतिक खिचातानी र आपसी स्वार्थका कारण विकासले व्यवहारिक रूप लिन सकेको छैन । योजनाहरू कल्पनामा सीमित हुँदै समय बर्बाद भइरहेको छ । समस्याहरू धेरै छन्, तर अहिलेको सबैभन्दा जटिल र संवेदनशील समस्या भनेको मानव स्वास्थ्यप्रति स्थानीय सरकारको गैरजिम्मेवारी देखिनु हो ।
आज दिनहुँ मृगौला रोगीहरू डाइलसिसका लागि पालो कुर्दै बाँच्न संघर्ष गरिरहेका छन् । कतिपय बिरामी उपचारको प्रतीक्षामै मृत्युको डर बोकेर बस्न बाध्य छन् । यस्तो यथार्थताबीच पनि जीवन सहज बनाउन निरन्तर संघर्षरत कीर्तिपुर अस्पतालप्रति स्थानीय सरकारले आवश्यक चासो नदिनु अत्यन्त दुःखद विषय हो । पद केवल व्यक्तिमा सीमित हुनु, जनताप्रति जिम्मेवारी नदेखिनु र उत्तरदायित्व बहन नगर्नु नै यसको स्पष्ट संकेत हो ।
त्यसैले विगतमा नयाँ बजार क्लबले एम्बुलेन्स सञ्चालनका लागि चालेको मानवीय कदमजस्तै अब फेरि जनस्तरबाटै स्वास्थ्यका लागि सामूहिक अभियान आवश्यक देखिएको छ । “कीर्तिपुरको स्वास्थ्य, कीर्तिपुरकै जिम्मा” भन्ने भावनासहित सम्पूर्ण संघसंस्था, समुदाय र नागरिक एकजुट हुनुपर्ने अवस्था आएको छ । यदि हामी अझै पनि जिम्मेवारीबाट टाढा रहने हो भने “मृत्युको पर्खाइमा कीर्तिपुर” भन्ने नारा केवल शब्दमा सीमित नरही यथार्थ बन्न सक्छ ।
आज फेरि एकपटक २४,१५० घरधुरी एकजुट भएर कीर्तिपुर अस्पतालभित्र मृगौला रोगीहरूका लागि निःशुल्क डाइलसिस सेवा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । बैंक, सहकारी, विद्यालय, विभिन्न नाफामूलक संघसंस्था, पुचः तथा कोषहरू—जसका वार्षिक खर्चहरू प्रायः घुमघाम र औपचारिकतामा सीमित भइरहेका छन्—त्यस्ता स्रोतहरू कम्तीमा एक वर्षका लागि डाइलसिस मेसिन खरिद तथा आवश्यक व्यवस्थापनतर्फ केन्द्रित गर्न सकिन्छ कि भन्ने गम्भीर विमर्श आजको आवश्यकता हो ।
हाल कीर्तिपुर अस्पतालमा मासिक १७८ जनाले डाइलसिस सेवा पाइरहेका छन् भने अझै २६ जना बिरामी पालो कुर्न बाध्य छन् । यो केवल तथ्यांक होइन, यो हाम्रो समाजको पीडा हो । बदलिँदो जीवनशैली, समयको दौडधुप र खानपानमा आएको गिरावटका कारण यस्ता रोगहरू घट्ने होइन, अझ बढ्दै जाने संकेत देखिन्छ । त्यसैले रोग निर्मूल हुने कल्पनाभन्दा पनि बिरामीको पीडा कम गर्ने व्यवस्था विस्तार गर्नु अहिलेको प्राथमिक आवश्यकता बनेको छ । डाइलसिस मेसिन संख्या वृद्धि गर्नु र सेवा पहुँच विस्तार गर्नु बाहेक अन्य व्यवहारिक विकल्प देखिँदैन । ४ वटा सञ्चालन रहेको भनिए तापनी सेवा सुबिधा मेसिन अभावको कारण कम देखिएको हुँदा कम्तिमा अहिले अवस्था हेर्ने हो भने १० वटा जति थप्न सकिईयो भने अरु अन्य क्षेत्रकाले पनि सेवा र सुबिधा प्राप्त गर्न सक्नेछन ।
मानवीय सेवाभन्दा ठूलो धर्म कुनै हुँदैन । त्यसैले स्वास्थ्य सेवाको यो अभियानलाई व्यक्तिगत होइन, संस्थागत सामाजिक उत्तरदायित्वका रूपमा विकास गर्न हामी सबै एकजुट हुन आवश्यक छ । कीर्तिपुरबाट मानवता मरेको छैन, र कुनै हालतमा मर्न दिइने छैन भन्ने अठोटका साथ अब शब्द होइन, व्यवहारमा उत्रिने समय आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर