गोठालो मार्ट’ : स्वदेशी उत्पादनलाई डिजिटल बजारसँग जोड्ने अभियान

डा. निकोलस भुसालले नेपाली उत्पादनलाई डिजिटल माध्यममार्फत प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘गोठालो मार्ट’ तथा ‘गोठालो मोबाइल एप’ सार्वजनिक गरेका छन्। “नेपालकै खाऔं, नेपालमै रमाऔं” भन्ने नारासहित सुरु गरिएको यस अभियानले स्थानीय कृषक, घरेलु उद्यमी तथा साना उत्पादकलाई प्रत्यक्ष रूपमा उपभोक्तासँग जोड्ने लक्ष्य राखेको छ।


पोखरामा सार्वजनिक गरिएको उक्त एपमार्फत गाउँघरमा उत्पादन हुने सिन्की, मस्यौरा, अर्गानिक कृषि सामग्री, घरेलु हस्तकला लगायत नेपाली मौलिक उत्पादनलाई निःशुल्क सूचीकरण गर्न सकिने व्यवस्था गरिएको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत स्थानीय उत्पादनलाई आधुनिक बजारसम्म पुर्‍याउने अभियानले ग्रामीण उत्पादकलाई सहज बजार पहुँच दिने अपेक्षा गरिएको छ।


‘गोठालो’ एपको मुख्य विशेषता बिचौलियाविहीन व्यापार प्रणाली हो। “खेतदेखि उपभोक्तासम्म” अवधारणामा आधारित यस अभियानले कृषक तथा स्थानीय उत्पादकका सामग्री सिधै उपभोक्ताको घरसम्म पुर्‍याउने योजना अघि सारेको छ।


अभियानलाई केवल व्यापारिक प्लेटफर्मका रूपमा नभई युवालाई स्वदेशमै उद्यमशीलता विकास गर्न प्रेरित गर्ने माध्यमका रूपमा पनि हेरिएको छ। विभिन्न जिल्लाका युवा उद्यमीहरू डिजिटल सञ्जालमार्फत अभियानमा जोडिन थालेको जनाइएको छ।


यसअघि पनि आत्मनिर्भरता र सामाजिक रूपान्तरणका अभियानमा सक्रिय रहँदै आएका डा. भुसालको “डिजिटल गोठालो” अवधारणाले नेपाली उत्पादनको बजार विस्तारमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ। विदेशी ब्रान्डको बढ्दो प्रभावबीच स्वदेशी उत्पादनलाई प्राथमिकता दिने यस्ता अभियानले नेपालको अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया