हुम्ला–बाजुरा सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभा मा सांसदहरूले हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

For Ads Call us Aama Darshan News


बिहीबार (जेठ ७) बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद जयपति रोकायाले दुई जिल्लाबीचको विवादका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण नागरिक प्रत्यक्ष प्रभावित भएको बताए ।

उनले बिरामी, परीक्षा दिन जाने विद्यार्थी तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने नागरिक समस्यामा परेको उल्लेख गर्दै सरकारले वार्ता र संवादमार्फत समस्या समाधान गरी राजमार्ग तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग गरे ।

सांसद केपी खनालले हुम्ला–बाजुरा सीमा अन्तर्गत रानीसिंह क्षेत्रको विवादका क्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको टोलीमाथि दुर्व्यवहार भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले बाजुराको हिमाली गाउँपालिका अन्तर्गत साइपाल क्षेत्रमा जडीबुटी तथा वन्यजन्तुको अपार सम्भावना रहेको उल्लेख गर्दै त्यहाँ वर्षौंदेखि अवैध तस्करी भइरहेको बताए । उक्त गतिविधि नियन्त्रण गर्न प्रहरी चौकी स्थापना गर्ने प्रयास हुँदा स्थानीय प्रतिनिधि तथा सुरक्षाकर्मीमाथि दुर्व्यवहार भएको उनले बताए ।


त्यसैगरी सांसद जनकराज गिरीले जेठ ४ गते हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी, प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायतमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाही र सीमा विवादको दीर्घकालीन समाधान गर्न माग गरे ।

सरकारले संवाद र सहमतिमार्फत समस्या समाधान गरी प्रभावित क्षेत्रमा शान्ति तथा सुरक्षा कायम गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

प्रतिक्रिया