कीर्तिपुर सहकारी संघ र नगरप्रमुख हास्दै आम कीर्तिपुर बासी रुदै.....
कीर्तिपुर अहिले एउटा गम्भीर मोडमा उभिएको छ । बाहिरबाट हेर्दा सहर विस्तार भइरहेको देखिन्छ, नयाँ घरहरू ठडिरहेका छन्, सडकहरू बनिरहेका छन् । तर भित्रभित्रै एउटा ठूलो आर्थिक र सामाजिक संकट पलाइरहेको छ सहकारी संकट ।
सहकारी भनेको सामान्य नागरिकको विश्वास हो । कसैले वैदेशिक रोजगारीबाट पठाएको रकम, कसैले पसिना बगाएर कमाएको ज्याला, कसैले छोराछोरीको भविष्यका लागि जोहो गरेको बचत यी सबै रकम “सुरक्षित हुन्छ” भन्ने भरोसामा सहकारीमा राखिएका हुन्छन् । तर आज त्यही भरोसा चकनाचुर हुँदै गएको छ ।
कीर्तिपुरमा कतिपय सहकारीहरू समस्याग्रस्त घोषणा भइसकेका छन् । केही घोषणा हुने तयारीमा छन् । धेरै सहकारीहरू भित्रभित्रै आर्थिक संकटको दलदलमा फसिरहेका छन् । बचतकर्ताहरू आफ्नो पैसा फिर्ता माग्दै धाइरहेका छन्, तर जवाफमा आश्वासन, बहाना र मौनता मात्रै पाइरहेका छन् ।
सबैभन्दा दुःखद कुरा के छ भने जनताको पसिनाको पैसा जोखिममा पर्दा त्यसको रक्षा गर्नुपर्ने निकायहरू नै जिम्मेवारीबाट भागेजस्तो देखिन्छन् ।
सहकारीहरूको हकहित र सदस्यहरूको सुरक्षाका लागि बनेको कीर्तिपुर सहकारी संघ आज समस्याको समाधान खोज्न होइन, नगरको बजेटमा रमाइलो गर्न व्यस्त भएको आरोप जनस्तरमा बढ्दै गएको छ ।
जब बचतकर्ता बैंकको लाइनजस्तै सहकारीको ढोकामा धाइरहेका छन्, त्यही बेला नेतृत्व तहका केही मानिसहरू भ्रमण, गोष्ठी, भोजभतेर र सुविधाको राजनीति गरिरहेका देखिन्छन् । यसले आम नागरिकको मनमा गम्भीर प्रश्न उठाएको छ कि “यो संघ जनता बचाउन बनेको हो कि पदाधिकारीहरूको सुविधा भोग गर्न ?”
त्यसभन्दा पनि चिन्ताजनक विषय नगर नेतृत्वको भूमिकालाई लिएर उठेको प्रश्न हो । नगरप्रमुख भनेको अभिभावक हो । अभिभावकको काम बिग्रिएको प्रणालीलाई सम्हाल्नु हो । तर यदि अभिभावक नै गलत समूहसँग निकट भएर रमाइलोमा व्यस्त देखिन्छ भने जनताले भरोसा कसमा गर्ने ? जब बच्चा बिग्रिन्छ, घरको ठूलो मान्छेले सच्याउँछ । तर जब ठूलो मान्छे नै बच्चासँगै गलत बाटोमा हिंड्न थाल्छ भने त्यसपछि गुहार माग्ने ठाउँ कहाँ रहन्छ ?
आज कीर्तिपुरका सर्वसाधारण यही प्रश्न बोकेर बसिरहेका छन् । सहकारी संकट केवल आर्थिक संकट होइन । यो सामाजिक विश्वासको संकट हो । मानिसले आफ्नो दुःख साट्ने ठाउँ गुमाउँदैछन् । विश्वास गुमेको समाजमा केवल पैसा मात्र डुब्दैन, सम्बन्ध डुब्छन्, सपना डुब्छन्, भविष्य डुब्छ ।
अब समय आएको छ कि सहकारीको नाममा भइरहेको लापरवाही, राजनीतिक संरक्षण र गैरजिम्मेवारीमाथि खुला बहस हुनुपर्छ । नगरपालिकाले सहकारीहरूको वास्तविक अवस्था सार्वजनिक गर्नुपर्छ । जोखिममा रहेका सहकारीहरूको छानबिन हुनुपर्छ । बचतकर्ताको रकम सुरक्षित गर्ने स्पष्ट योजना आउनुपर्छ । र सहकारीलाई निजी कमाइको माध्यम बनाउने प्रवृत्तिमाथि कडा कारबाही हुनुपर्छ । किनकि जनताको पैसा कुनै नेताको कृपा होइन । यो जनताको जीवनभरको मेहनत हो । यदि आज पनि सबै पक्ष मौन बसिरहने हो भने भोलि इतिहासले एउटा प्रश्न अवश्य सोध्नेछ कि “जनता रोइरहेका बेला जिम्मेवारहरू कहाँ थिए ?” र त्यो प्रश्नको उत्तर केवल भाषणले होइन, कामले दिनुपर्नेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर