व्यक्तिको लागि पार्टीको बलि चढाउनुहुन्न ।
जनमतको अपमान कि राजनीतिक असहजता ?
नेपालको संसद केवल बहस गर्ने थलो होइन, जनताको भावनालाई प्रतिनिधित्व गर्ने पवित्र मञ्च(तीर्थ) हो । तर पछिल्ला अभिव्यक्तिहरूले प्रश्न उठाएको छ कि के त्यहाँ जनताको सम्मान सुरक्षित छ ?
हालै रामबहादुर थापा ‘बादल’ले संसदमा व्यक्त गरेको धारणा“राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको बहुमत जनताले दिएको होइन” केवल एउटा राजनीतिक टिप्पणी मात्र होइन, जनादेशमाथिको प्रत्यक्ष प्रश्न पनि हो
अंकगणित जनमत :
४७% मत पाउनु भनेको ५३% मत प्रतिपक्षमा हुनु हो भन्ने तर्क गणितीय रूपमा ठीक लाग्न सक्छ तर राजनीति केवल अंकगणित होइन, जनविश्वासको विज्ञान हो । लोकतन्त्रमा बहुमतको अर्थ पूर्णता होइन, नेतृत्वको अधिकार हो । यदि यही तर्कलाई आधार मान्ने हो भने संसारका अधिकांश सरकारहरू अवैध ठहरिने थिए । यति कुरा पनि बुझ्न सकेनन ।
जेन्जी आन्दोलनको अवमूल्यन :
भ्रष्टाचार, बेथिति र विसंगतिविरुद्ध उठेको जेन्जी आन्दोलनलाई “औचित्यहीन” भन्नु केवल आन्दोलनमाथि आक्षेप होइन, त्यो आन्दोलनमा सहभागी हजारौं युवाको चेतनामाथिको अपमान हो । यही आन्दोलनले देशमा नयाँ राजनीतिक विकल्प जन्माएको हो भने त्यसलाई अस्वीकार गर्नु, वास्तवमा परिवर्तनको सम्भावनालाई अस्वीकार गर्नु हो ।
जनयुद्धको औचित्य र वर्तमान सन्दर्भ :
जब भनिन्छ कि “यी प्रश्नहरूले माओवादी जनयुद्ध आवश्यक थिएन भन्ने प्रमाणित गर्छन" त्यो अभिव्यक्ति आफैंमा द्वन्द्वग्रस्त छ । यदि आजको परिवर्तन, जनताको चेतना र वैकल्पिक राजनीतिक शक्तिहरूलाई अस्वीकार गर्ने हो भने, विगतका संघर्षहरूको उपलब्धि के रहन्छ ? इतिहासलाई खण्डन गरेर वर्तमानलाई बुझ्न सकिँदैन ।
षड्यन्त्रको कथा कि हारको स्वीकारोक्ति ?
“बारबरा फाउन्डेसन र नेपाली सेनाका कारण रास्वपाले जित्यो” भन्ने जस्ता अभिव्यक्तिहरूले जनताको निर्णय क्षमतामाथि सीधा प्रहार गरेको छ । यो तर्कले भन्न खोजेको के हो ? के नेपाली जनता यति कमजोर छन कि उनीहरूको मत विदेशी प्रभाव वा संस्थागत चलखेलले निर्धारण गर्छ ? यदि यस्तो हो भने, त्यसले राजनीतिक नेतृत्वकै असफलता प्रमाणित गर्छ भने जनतासँगको सम्बन्ध कमजोर भएको, विश्वास गुमाएको तथ्य सार्वजनिक गरेको छ । अब नेकपा एमालेलाई जनताको आवश्यक छैन भन्नू नै हो ।
पार्टीको पहिचानमाथि प्रश्न :
यस्ता अभिव्यक्तिहरूले नेपाल कम्युनिस्ट पार्टी (एमाले)को वैचारिक धरातलमाथि पनि प्रश्न उठाएको छ । के यो पार्टी अझै पनि जनताको आवाज सुन्ने पार्टी हो कि केवल आफ्नै हारलाई तर्कले ढाक्ने प्रयास गर्ने पार्टी हो ? आफू सरकारमा हुँदा संविधान जो कोहिले पनि मान्नुपर्छ भनी संसदमा चिच्याउने पार्टी अहिले आफ्नो पालो आउँदा प्रतिशोध शब्दको आडमा सडक प्रदर्शनी र हिंसा भत्काउने एवम् संरचना तोडफोड गर्ने जस्ता कार्यले व्यक्तिको लागि पार्टीको बलिदान त गर्दै छैनौं भन्ने प्रश्नसँगै माक्सवाद लेलिनवादको वास्तविक अर्थ के हो भन्ने प्रश्न पनि जन्माएको छ । साथै कम्युनिस्ट जसलाई कर्ममा निष्ठा भएका मानिसहरूका विचार हुन्, अब कहाँ खोज्ने हुन् ?
अन्तमा, लोकतन्त्रमा हार स्वीकार्नु कमजोरी होइन, परिपक्वता हो । जनताको निर्णयलाई षड्यन्त्र देख्नु भन्दा त्यसबाट सिक्नु आवश्यक हुन्छ । यदि जनताको मतलाई अपमान गरिन्छ भने, त्यो केवल एउटा पार्टीको होइन, सम्पूर्ण लोकतान्त्रिक प्रणालीकै अपमान हो । राजनीति अन्ततः अंकगणित मात्र होइन, विश्वासको समीकरण हो, जहाँ जनताले अन्तिम निर्णय गर्छन र त्यो निर्णयलाई सम्मान गर्नु नै साँचो लोकतन्त्र हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर