बिपी राजमार्ग पुनः अवरुद्ध, रोशी खोलाको बाढीपछि यातायात अनिश्चितकालका लागि बन्द


काठमाडौं । बिपी राजमार्ग अन्तर्गत पर्ने भकुण्डे–नेपालथोक खण्डमा मंगलबार साँझदेखि अनिश्चितकालीन रूपमा यातायात सञ्चालन बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार साँझ ७ बजेदेखि परेको अविरल वर्षाका कारण रोशी खोला मा पानीको बहाव अत्यधिक बढेको छ। यसले राजमार्गमा बाढी तथा सडक क्षतिको जोखिम बढाएपछि सावधानीस्वरूप यातायात पूर्ण रूपमा रोकिएको हो।

प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तथा काभ्रेभञ्ज्याङलगायत क्षेत्रमा भइरहेको भारी वर्षाले रोशी खोलामा बाढी आउने सम्भावना उच्च रहेको छ। सोही जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा रोक लगाइएको उनले जानकारी दिए।

हाल सवारीसाधनलाई धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा ‘होल्ड’ गरेर राखिएको छ। छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरी सवारी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सर्वसाधारणलाई मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्नसमेत अपिल गरिएको छ।

यसअघि गत शुक्रबार आएको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर डाइभर्सन बगाउँदा राजमार्ग करिब ३६ घण्टा अवरुद्ध भएको थियो। त्यसपछि आइतबार बिहानदेखि मात्र आंशिक रूपमा यातायात सञ्चालनमा ल्याइएको थियो।

अहिले पनि वर्षा जारी रहेकाले जोखिम अझै कायम रहेको सम्बन्धित निकायले जनाएको छ।

रिपोर्टर: सुर्य राया
आमा दर्शन न्युज

प्रतिक्रिया