मतको सन्देश
भोट दिनु परिवर्तनको सुरुवात हो तर त्यो अन्तिम लक्ष्य होइन । मतपत्रमा राखिएको चिन्हले केवल आशा जन्माउँछ तर त्यो आशालाई जीवन्त राख्ने जिम्मा हामी सबैको काँधमा आइपुगेको छ । परिवर्तन कुनै जादु होइन, जुन एकैचोटि घट्छ; यो निरन्तर जागरूकता, सहभागिता र उत्तरदायित्वको यात्रा हो ।
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाखभन्दा बढी समानुपातिक मत प्राप्त गर्नु केवल एउटा राजनीतिक सफलता मात्र होइन । यो जनताको मनभित्र पलाएको असन्तोषको स्पष्ट आवाज हो । यो मत भ्रष्टाचार, बेथिति र विसंगतिविरुद्ध उठेको मौन विद्रोह हो जसले अब स्वर पाएको छ । यो कमिसन, अन्याय र शोषणविरुद्धको चर्को नारा हो जुन मतपत्रमार्फत सडकमा गुन्जिएको छ ।
तर, प्रश्न यहाँ उठ्छ कि के यति मात्र पर्याप्त छ?
यदि हामीले मत दिएर मात्र आफ्नो कर्तव्य पूरा भयो भन्ने सोच्यौं भने, त्यो परिवर्तन फेरि पुरानै गल्तीहरूको शिकार बन्नसक्छ । किनकि परिवर्तनलाई जोगाउन नागरिक चेतना चाहिन्छ । निरन्तर निगरानी चाहिन्छ र आवश्यक परे आवाज उठाउने साहस चाहिन्छ ।
५१ लाख मत केवल अंक होइनन्, ती ५१ लाख सपना हुन् स्वच्छ शासनको, न्यायपूर्ण समाजको र समृद्ध नेपालको । तर सपना तब मात्र साकार हुन्छ, जब हरेक नागरिक त्यसको पहरेदार बन्छ । जब हामी प्रश्न गर्न डराउँदैनौं, जब हामी गलतलाई सहन सिक्दैनौं र जब हामी आफ्नै भूमिकालाई गम्भीरताका साथ स्वीकार गर्छौं त्यसको रक्षा गर्नसक्छौं । गलतलाई गलत भन्न हामीले पनि आवाज ती कुण्ठा विरुद्ध गुञ्जायमान बनाउनुपर्छ । गलतलाई सत्य भन्न कराउनेलाई स्वरहीन बनाउनुपर्छ । ७६ जना निहत्था जनता मारिएको तथ्यलाई यो गलतै गरेको हो भन्न फेरि सडक र सदनमा चर्को आवाज गुञ्जाउनु परेको छ भने अब शक्ति बन्दुकमा होइन, जनमतमा छ; अब शक्ति डरमा होइन, चेतनामा छ भन्न अपराधी सोचलाई सजाय तोक्नु परेको छ ।
अन्तमा, परिवर्तन कुनै पार्टीको मात्र जिम्मेवारी होइन यो हामी सबैको साझा दायित्व हो । भोटले ढोका खोल्छ तर त्यो ढोकाबाट भित्र पसेर घर बनाउन, सजाउन र सुरक्षित राख्न हामी नै अगाडि बढ्नुपर्छ । हामी सक्रिय भयौं भने, परिवर्तन केवल शब्दमा सीमित रहने छैन त्यो व्यवहारमा झल्किनेछ, संरचनामा देखिनेछ, र यसले समृद्धिको मार्गमा देशलाई अघि बढाउनेछ । परिवर्तन आयो अब त्यसलाई जोगाउने पालो हाम्रो हो ।
“अन्तिम सासको आवाज”
सडकको बीचमा आज एउटा मान्छे होइन,पूरै संसार ढलेको छ । रगतले भिजेको मानवताको अनुहार छ । कसैले टाउको थामेको छ तर त्यो केवल शरीर होइन एउटा अधुरो कथा समातिरहेको छ जुन कहिल्यै पूरा हुनेछैन । रगत बग्दैछ… जसरी आँसु बग्छ तर आज आँखा सुख्खा छन किनकि पीडा यति गहिरो छ कि रोइदिन पनि सक्दैन । त्यो धड्कन बिस्तारै हराउँदैछ जसले आफ्नो घर फर्किने बाटो सोचेको थियो । कसैले सोचेको थिएन यो यात्रा अन्तिम हुनेछ भनेर । न त उसले न त उसका आफ्नाहरूले । हे समय…किन यति निर्दयी भयौ ? एक क्षणमै जीवनलाई सम्झनामा परिणत गर्यौ । अब बाँकी छ रगतको दाग, मौन सडक र एक प्रश्न “जीवन किन यति असहाय छ ?” यदि करुणा अझै बाँकी छ भने आज यसलाई न्याय दिई बचाऊ किनकि हामी सबै कुनै न कुनै दिन यही सडकका पात्र हौं…।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर