कीर्तिपुरको स्वास्थ्य अभियान : Dialysis Machine थप्ने अभियानमा जुट्दै राजकमल
“समृद्ध समाजको आधार केवल सडक र भवन होइन, नागरिकको स्वास्थ्य पनि हो । ”
घर–घरमा सहज र पहुँचयोग्य स्वास्थ्य सेवा पुग्नुपर्छ भन्ने सोचका साथ लामो समयदेखि समाजसेवामा सक्रिय राजकमल अहिले कीर्तिपुरमा मिर्गौला रोगीहरूको उपचारलाई थप प्रभावकारी र सहज बनाउन आवश्यक Dialysis Machine थप गर्ने अभियानमा निरन्तर जुटिरहनुभएको छ।
मिर्गौला रोगबाट पीडित बिरामीहरूका लागि नियमित डायलाइसिस जीवन रक्षासँग प्रत्यक्ष जोडिएको उपचार प्रक्रिया हो । तर आवश्यक मेसिनको अभाव, लामो प्रतीक्षा तथा उपचारमा हुने कठिनाइका कारण धेरै बिरामी र उनका परिवारले विभिन्न समस्या भोग्नुपरेको यथार्थ हाम्रो सामु छ । यही अवस्थालाई मध्यनजर गर्दै राजकमलले समुदायलाई एकताबद्ध बनाई समाधानको बाटो खोज्ने प्रयास गरिरहनुभएको छ ।
उहाँका अनुसार कीर्तिपुरको इतिहास हेर्दा यहाँका धेरै समस्याहरू जनस्तरकै पहल, सहयोग र सहकार्यबाट समाधान भएका छन् । एम्बुलेन्स सेवा विस्तार, खानेपानी व्यवस्थापन तथा साझा यातायात सञ्चालनजस्ता उदाहरणहरूले समुदायको एकताले असम्भवजस्तो देखिने कामलाई पनि सम्भव बनाएको प्रमाण दिएका छन् ।
आज फेरि त्यही सामूहिक भावनाको आवश्यकता महसुस गरिएको छ । मिर्गौला रोगीहरूको पीडा कम गर्न, उपचारलाई सहज बनाउन र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न Dialysis Machine थप्ने अभियानलाई सबै कीर्तिपुरवासीले आफ्नो अभियानको रूपमा ग्रहण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
स्वास्थ्य केवल व्यक्तिगत विषय होइन, यो सामाजिक उत्तरदायित्व पनि हो । समाजका सबै वर्ग, समुदाय, संस्था तथा शुभेच्छुकहरू एकजुट भएमा बिरामीले उपचार नपाएर दुःख पाउने अवस्था अन्त्य गर्न सकिन्छ ।
“उपचारको पहुँच सबैको अधिकार हो, सुविधा हुनेहरूको मात्र विशेषाधिकार होइन ।”
कीर्तिपुरले विगतमा धेरै चुनौतीहरू सामूहिक प्रयासबाट पार गरेको छ । आज फेरि एउटा नयाँ अभियान अगाडि छ—मिर्गौला रोगीहरूको जीवनलाई सहज र सुरक्षित बनाउने अभियान। यस अभियानको सफलता कुनै एक व्यक्तिको होइन, सम्पूर्ण कीर्तिपुरको मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वको सफलताको कथा बन्न सक्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर