नैतिकता कि स्वार्थको आवरण ?
आजको सार्वजनिक बहसमा “नैतिकता” शब्द अत्यन्त प्रयोग हुन्छ तर यसको अर्थ भने क्रमशः विकृत हुँदै गएको देखिन्छ । जब रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणजस्तो गम्भीर विषय उठाउँछन वा सुधन गुरुङजस्ता व्यक्तिहरूको कामबाट विवादमा तानिन्छन, त्यसबेला उठ्ने “नैतिकता”को बहस प्रायः सत्य खोज्न भन्दा पनि पक्ष–विपक्षको रक्षा गर्न केन्द्रित देखिन्छ । यो अवस्थाले एउटा गम्भीर प्रश्न जन्माउँछ, के हामी वास्तवमै नैतिकताको पक्षमा उभिएका छौं कि आफ्नो स्वार्थलाई नै नैतिकता भनेर ढाकछोप गरिरहेका छौं ?
नैतिकताको राजनीतिक रूपान्तरण :
नैतिकता मूलतः व्यक्तिगत र सामाजिक उत्तरदायित्वको मानक हो । तर आज यो तीन तरिकाले रूपान्तरित भएको देखिन्छ:
१. नैतिकता = आफ्नो बचाउ
आफ्नो पक्षमा परेको आरोपलाई “षड्यन्त्र” भन्नु र अरूको कमजोरीलाई “अपराध” भन्नु यो दोहोरो मापदण्ड नैतिकता होइन, रणनीति हो ।
२. नैतिकता = अन्ध समर्थन
पार्टीगत कार्यकर्ताहरूले आफ्नो विवेकभन्दा नेताको बोलीलाई सत्य ठान्नु, असहमति राख्न नसक्नु यो निष्ठा होइन, विवेकको समर्पण हो ।
३. नैतिकता = विरोध दबाउने हतियार
जो प्रश्न गर्छ, उसैलाई “अनैतिक” ठहर गर्ने प्रवृत्ति बढ्दै गएको छ । प्रश्नलाई होइन, प्रश्नकर्तालाई आक्रमण गर्ने संस्कारले समाजलाई कमजोर बनाउँछ ।
जनताको भूमिकामा विचलन :
लोकतन्त्रमा जनता मालिक हुन् तर व्यवहारमा जनता कार्यकर्ता बनेका छन । जब नागरिक आफ्नो स्वतन्त्र सोच त्यागेर “कुन पार्टी ?” भनेर मात्र सोच्न थाल्छ, त्यहीँबाट नैतिकताको पतन सुरु हुन्छ । यसले यी कुरा जन्माउँछन :
१. अधिकार प्रयोग गर्न जान्ने तर जिम्मेवारीबाट भाग्ने ।
२. गल्ती देख्दा पनि “आफ्नो मान्छे” भनेर चुप बस्ने ।
३. सत्यभन्दा “आफ्नो पक्ष” रोज्ने ।
यी सबै कुरा मिलेर नैतिकताको नयाँ तर खतरनाक परिभाषा बनाउँदैछन ।
कानून, अदालत र नैतिकताको खेल
“तपाईंहरू सडक, संसद तताउनुहोस्, हामी अदालत तताउँछौं” भन्ने अभिव्यक्ति केवल भावनात्मक प्रतिक्रिया होइन, यो न्याय प्रणालीमाथि अविश्वास र दबाबको संकेत हो । जब अपराधलाई बचाउन वकिलको तर्कलाई नै नैतिकता ठानिन्छ, जब जिम्मेवारीबाट पन्छिनु “चालाकी” बन्छ, त्यसपछि नैतिकता न्याय होइन, उपलब्ध परिणामको नाम मात्र बन्न पुग्छ ।
अन्तिम प्रश्न: अब दोष कसको ?
सरल उत्तर छैन, तर कठोर सत्य छ यो अवस्थाको जिम्मेवारी केवल नेता वा मिडियाको मात्र होइन, जनताको पनि हो । किनकि प्रश्न नगर्ने नागरिकले गलतलाई बलियो बनाउँछ । अन्ध समर्थनले गलतलाई वैधता दिन्छ । चुप्पीले अन्यायलाई निरन्तरता दिन्छ ।
अन्तमा, नैतिकता पुनःपरिभाषित गर्नुपर्ने बेला आएको छ । नैतिकता भनेको आफ्नो पक्षमा होइन, सत्यको पक्षमा उभिनु हो । भीड होइन, विवेकलाई पछ्याउनु हो । अधिकार होइन, कर्तव्य सम्झनु पनि सम्झिनु हो । र आजको सबैभन्दा ठूलो चुनौती नै यही हो कि नैतिकतालाई स्वार्थबाट मुक्त गराएर पुनः मूल्यमा फर्काउनु हो । नत्र भोलि यस्तो दिन आउन सक्छ, जहाँ “लुट्नु, ठग्नु, जोगिनु” यी नै सामान्य मानिनेछ र “सत्य बोल्नु” सत्य कार्यमा निष्ठा राख्नु सबैभन्दा ठूलो अनैतिकता ठहरिनेछ । यसको लागि जनता कार्यकर्ता बन्न छोड्नुपर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर