घटस्थापनासँगै बडादशैँ सुरु, आज शैलपुत्री देवीको पूजाआराधना गरिँदै

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै १५ दिनसम्म मनाइने बडादशैँ पर्वको शुभारम्भ भएको हो।

विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका सिलसिलामा घरपरिवारबाट टाढा रहेका सदस्यहरू दशैँ मनाउन आ–आफ्नो थातथलो फर्किने क्रमसँगै सुरु भएको यो पर्व नेपाली समाजमा पारिवारिक पुनर्मिलन, धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा समेत स्थापित छ।

बडादशैँको पहिलो दिन आज घरको पूजाकोठा वा दशैँघरमा दियो, कलश र गणेश स्थापना गरी शक्तिस्वरूपा दुर्गा भवानीको आह्वानसहित घटस्थापना गरिन्छ। वैदिक विधिअनुसार पूजा आरम्भ गर्दै देवीको आराधना गर्ने परम्परा छ।

घटस्थापनाका दिन बिहानै नित्यकर्म पूरा गरी नदी वा अन्य पवित्र स्थानबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजास्थलमा राखिन्छ। त्यसमाथि विधिपूर्वक जौ रोपेर जमरा राख्ने परम्परा छ। जौको अङ्कुरलाई दुर्गा भवानीको प्रिय वस्तु मानिने धार्मिक विश्वासअनुसार रोपिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा टीकासँगै ग्रहण गर्ने तथा शिरमा लगाउने गरिन्छ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार जमरामा जौबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन। यद्यपि, कुलपरम्पराअनुसार कतिपय परिवारमा जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ। धार्मिक महत्त्वका साथै जमरालाई आयुर्वेदिक प्रयोगमा समेत उपयोग गर्ने गरिएको छ।

आजै पूर्ण कलश स्थापना गरी त्यसमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिएको हो। घटस्थापनाका दिन स्थापना गरिएको कलशको जललाई पवित्र मानी विजयादशमीका दिन देवीको प्रसादका रूपमा अभिषेक गर्ने धार्मिक परम्परा छ।

नवरात्रको पहिलो दिन आज नवदुर्गाका नौ स्वरूपमध्ये प्रथम स्वरूप शैलपुत्री देवीको पूजाआराधना पनि गरिँदैछ। घटस्थापनापछि शैलपुत्री देवीको आह्वान गरी विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ।

देवीकवच र मार्कण्डेय पुराणलगायतका धार्मिक ग्रन्थमा शैलपुत्रीलाई गिरिराज हिमालयकी पुत्री पार्वतीका रूपमा वर्णन गरिएको छ। नवरात्रको पहिलो दिन शैलपुत्री देवीको आराधना गर्नाले मन स्थिर हुने तथा भक्तजनको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादशैँ आश्विन शुक्ल पूर्णिमासम्म मनाइन्छ। यस अवधिमा घटस्थापना, नवरात्रका विभिन्न दिनमा गरिने देवीपूजा, फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीजस्ता धार्मिक तथा सांस्कृतिक महत्त्वका दिनहरू पर्दछन्। विजयादशमीका दिन परिवारका ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैँ मनाउने परम्परा छ।


प्रतिक्रिया