जनताको मतको सम्मान गरौँ, लोकतन्त्रलाई कमजोर नबनाऔँ
जनताले भोट दिएर जिताएको निर्वाचनलाई अन्यथा भन्ने, अपमानित गर्ने वा चुनाव नै गलत भयो भन्ने ढंगले हल्का टिप्पणी गर्ने काम बन्द गरौँ।
चुनाव सुरक्षा–प्रभावित थियो, नेपाली सेनासमेत संलग्न थियो, विदेशी चलखेल भयो भन्ने जस्ता गम्भीर आरोपहरू प्रमाणबिना लगाउनु भनेको केवल कुनै दल वा सरकारलाई आरोप लगाउनु मात्र होइन; यसले हाम्रा लोकतान्त्रिक संस्थाहरू र सार्वभौम नेपाली जनताको निर्णयमाथि नै प्रश्न उठाउँछ।
त्यसैले म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु—यस्ता विषयमा जिम्मेवार बनौँ।
तपाईं नेपाली कांग्रेसलाई माया गर्नुहुन्छ, बीपी कोइरालालाई माया गर्नुहुन्छ, उहाँको विचार र आदर्शलाई आफ्नो राजनीतिक मार्गदर्शन मान्नुहुन्छ भने एकपटक आफ्नो दललाई प्रतिपक्षमा राखेर हेर्न सक्ने साहस पनि राख्नुपर्छ। दल छोड्नुपर्दैन। हामी काम गर्न सकेनौँ भने अर्को निर्वाचनमा जनताले हामीलाई दण्ड दिन सक्छन्। जनताले डाँडा कटाउन सक्छन्। मैले निर्वाचनका बेला पनि यही भनेको हुँ र आज पनि यही कुरामा अडिग छु।
नेपाली कांग्रेसको यही ऐतिहासिक मञ्चमा उभिएर म आफ्ना दलका साथीहरूलाई पनि स्पष्ट भन्न चाहन्छु—यदि पाँच वर्षमा रास्वपाले काम गर्न सकेन भने सबैभन्दा पहिले रास्वपाको सदस्यता च्यात्ने आँट हामीले राख्नुपर्छ। जनताको मतलाई सम्मान गर्ने हो भने आफ्नै दलप्रति पनि प्रश्न उठाउन सक्ने नैतिक साहस चाहिन्छ।
म पनि कांग्रेस हुन्थेँ होला, यदि कांग्रेसले समयमै पार्टीको निष्ठा, विचार, त्याग र योगदानलाई राजनीतिक पूँजीका रूपमा सम्मान गरेको भए। भौतिक पूँजी भएका मानिसभन्दा राजनीतिक निष्ठा भएका कार्यकर्तालाई प्राथमिकता दिएको भए म पनि कांग्रेस हुन्थेँ होला।
दुर्गम, दूरदराज र पिछडिएका क्षेत्रका नागरिकलाई समानुपातिक प्रतिनिधित्वको कुरा गर्ने तर अवसर पाइसकेका र पहुँच भएका व्यक्तिलाई नै बारम्बार प्राथमिकता दिने प्रवृत्ति नभएको भए पनि म कांग्रेस हुन्थेँ होला।
आज पचास वर्षको सभापति पाउँदा गौरव गर्ने कांग्रेसले चालिस वर्षमै नेतृत्व गर्ने प्रेरणा र अवसर दिएको भए म पनि कांग्रेस हुन्थेँ होला।
अर्को पार्टीको चुनाव चिह्नमा भोट हाल्न उर्दी जारी गर्नेभन्दा आफ्नै विचार, संगठन र सिद्धान्तप्रति दृढ भएर उभिएको भए पनि म कांग्रेस हुन्थेँ होला।
तर अब गुनासो मात्र गरेर बस्ने होइन। मुलुकको जिम्मेवारी हामी सबैले मिलेर अगाडि बढाउने हो।
अधिकार कागजमा होइन, व्यवहारमा
यहाँ तराई–मधेशका धेरै प्रतिनिधि साथीहरू हुनुहुन्छ। अधिकार, पहिचान, समानुपातिक प्रतिनिधित्वका कुरा धेरै सुनिएका छन्। भाषणमा सुनिएका छन्, नारामा सुनिएका छन्, कागज र घोषणापत्रमा लेखिएका छन्।
तर अधिकार भनेको कागजमा लेखेर मात्र स्थापित हुँदैन। व्यवहारमा लागू गर्नुपर्छ।
हामीले मधेशको छोरालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेर एउटा राजनीतिक सन्देश दिएका छौँ—पहिचान र अधिकार भाषणको विषय मात्र होइन, व्यवहारमा कार्यान्वयन गर्ने विषय हो।
त्यसैले अधिकार र पहिचानका मुद्दालाई केवल विभिन्न क्लस्टरमा विभाजन गरेर कागजमा थुपार्ने होइन; राज्यको व्यवहारमै स्थापित गर्नुपर्छ।
सरकार ढल्छ भन्ने हल्ला
कहिलेकाहीँ सुनिन्छ—सरकार कमजोर भयो, सरकार ढल्छ, आज ढल्छ, भोलि ढल्छ, दसैँमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ।
सरकार ढल्ने कुरा बारम्बार सुन्न पाइन्छ। तर सरकार ढल्छ भन्ने हल्ला गर्नेहरू नै अन्ततः निराश भएर ढल्ने अवस्था आउन सक्छ; सरकार ढल्दैन।
किनकि यसपटक हामीले केवल व्यक्तिलाई सुनेर सरकार गठन गरेका होइनौँ। इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने संकल्पसहित सरकार गठन गरेका हौँ।
लोकतन्त्रको रक्षा जनताले गर्छन्
लोकतन्त्रको रक्षाको विषयमा पनि म स्पष्ट भन्न चाहन्छु—लोकतन्त्रको सम्पूर्ण ठेक्का कुनै एउटा दलले लिनुपर्दैन।
लोकतन्त्रलाई खतरा भयो भने नेपाली जनता आफैँ लोकतन्त्रको रक्षा गर्न सक्षम छन्।
तर लोकतन्त्रको नाममा विधि, मूल्य, मान्यता र संस्थाहरूलाई कमजोर बनाउँदै जाने हो भने त्यहीँबाट देश र लोकतन्त्र संकटमा पर्न सक्छ।
त्यसैले हामीलाई विस्थापित गर्ने अचूक उपाय आन्दोलन होइन, निर्वाचन हो।
आन्दोलनबाट सरकार ढाल्ने होइन; अब चुनावबाट सरकार फेरौँ।
चुनावले सरकार फेर्छ। जनताले सरकार फेर्छन्।
हामीले निर्वाचनमा जाने भनेका थियौँ। सम्भवतः यहाँ उपस्थित कतिपय साथीहरूले गत निर्वाचनमा घण्टीमा मत पनि हाल्नुभएको होला। भन्न नमिल्ला, त्यो बेग्लै कुरा हो।
तर लोकतन्त्रलाई बलियो बनाउने हो भने निर्वाचनको अभ्यासलाई बलियो बनाउनुपर्छ। जनताको मतबाट बनेको सरकारलाई जनताको मतबाटै बदल्ने संस्कार स्थापित गर्नुपर्छ।
जनताको मतमाथि प्रश्न नगरौँ
जनताले भोट दिएर जिताएको निर्वाचनलाई गलत भन्नु, निर्वाचन नै सुरक्षा–प्रभावित थियो भन्नु, नेपाली सेनालाई समेत आरोप लगाउनु वा विदेशी चलखेलको आधारहीन कथा निर्माण गर्नु गम्भीर विषय हो।
यस्ता आरोपले केवल सरकारलाई कमजोर बनाउँदैनन्; यसले निर्वाचन, सुरक्षा निकाय, राज्यका संस्था र अन्ततः सार्वभौम नेपाली जनताको निर्णयमाथि नै अविश्वास पैदा गर्छ।
हामीले आफ्नै राजनीतिक स्वार्थका लागि राज्यका संस्थाहरूलाई दोष लगाउने छुट पाउनु हुँदैन।
त्यसैले षड्यन्त्रका तानाबाना बुन्नुभन्दा जनतामाझ जाऔँ। जनताले जे भन्छन्, त्यसलाई स्वीकार गरौँ। लोकतन्त्रको सबैभन्दा सुन्दर बाटो यही हो।
अहिले रास्वपाको सरकार छ। विभिन्न राजनीतिक दलहरूले मुलुक गलत दिशातर्फ जाने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभएको छ। ती जायज चिन्ताको म सम्मान गर्दछु।
तर सरकारलाई प्रश्न गर्ने अधिकारसँगै निर्वाचनबाट आएको जनादेशको सम्मान गर्ने दायित्व पनि सबैको हो।
हामी संस्थाहरूलाई बलियो बनाऔँ, लोकतान्त्रिक अभ्यासलाई बलियो बनाऔँ र जनताको निर्णयलाई सर्वोच्च मानौँ।
अन्त्यमा, लोकतन्त्र र परिवर्तनका पक्षमा सहकार्य गर्ने सबै राजनीतिक शक्ति तथा साथीहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
यो सहकार्य निरन्तर अगाडि बढ्नेछ। लोकतन्त्रको पक्षमा, परिवर्तनको पक्षमा र जनताको पक्षमा रास्वपा हरेक कदममा कदम मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर