भारतले गर्‍यो पाकिस्तानमाथि लक्षित हवाई हमला, ‘अपरेसन सिन्दुर’ मार्फत आतंकवादी शिविरहरू ध्वस्त

Aama Darshan News | काठमाडौं

भारतले बुधबार बिहान पाकिस्तानमाथि लक्षित हवाई हमला गर्दै ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही सार्वजनिक गरेको छ। जम्मु-कश्मीरको पहलगामस्थित पर्यटकीय क्षेत्रमा वैशाख ९ गते भएको आतङ्कवादी हमलामा २६ जनाको ज्यान गएपछि भारतीय सुरक्षा संयन्त्रले प्रतिकारस्वरूप यो कारबाही थालेको हो।


भारतीय विदेश सचिव विक्रम मिस्रीले एक प्रेस सम्मेलनमा जानकारी दिँदै भने, “भारतले आफ्नो सुरक्षाको रक्षा गर्न र आतङ्कवादको निर्मूलनका लागि अन्तर्राष्ट्रिय अधिकारको प्रयोग गरेको हो।”


भारतीय समय अनुसार राति १:०५ बजे सुरु भएको यो अपरेसन साढे १ बजेसम्म चलेको थियो। कारबाहीमा पाकिस्तान-नियन्त्रित कश्मीर र पाकिस्तानकै पंजाब प्रान्तमा रहेका ९ स्थानमा हवाई हमला गरिएको पुष्टि गरिएको छ। हमला जैश-ए-मोहम्मद र लश्कर-ए-तइबाजस्ता आतङ्कवादी संगठनका मुख्य शिविरहरूमा केन्द्रित रहेको जनाइएको छ।


भारतको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार, उक्त अपरेसन ‘सिन्दुर’ नाम राखिएको छ – पहलगाम हमलामा ज्यान गुमाएकी एक नौसेना अधिकृतको पत्नी र अन्य महिलाहरूको सिन्दुर प्रतीकको सम्मानस्वरूप। भारतीय वायुसेनाका विंग कमान्डर व्योमिका सिंह र सेनाकी लेफ्टिनेन्ट कर्नल सोफिया कुरेशीले संयूक्त रूपमा कारबाहीबारे जानकारी दिँदै महिला नेतृत्वमा भएको सफल सैन्य रणनीतिको उदाहरण प्रस्तुत गरेका थिए।


अर्कोतर्फ, पाकिस्तानले भारतले सर्वसाधारण तथा धार्मिक स्थलमा आक्रमण गरेको आरोप लगाएको छ। पाकिस्तानी सैन्य प्रवक्ताका अनुसार आक्रमणमा महिला, बालबालिकासहित २६ जना सर्वसाधारणको मृत्यु भएको छ भने भारतका पाँचवटा फाइटर जेट खसालिएको दाबी गरिएको छ। भारतले यस विषयमा कुनै पुष्टि वा खण्डन गरेको छैन।


स्थिति चुलिँदै जाँदा पाकिस्तानले पञ्जाब प्रान्तमा आपतकाल घोषणा गरेको छ। भारतीय पक्षले भने अमेरिका, बेलायत, साउदी अरेबिया, यूएई र रूसजस्ता प्रमुख मित्र राष्ट्रहरूलाई कारबाहीबारे जानकारी गराइसकेको छ।


दुवै मुलुकका सीमाक्षेत्रहरूमा सिमित झडप र गोलीबारीको खबर आइरहेका छन्। पाकिस्तानका सेनाप्रमुख जनरल सइद असिम मुनिरले “भारतको भन्दा कडा जवाफ” दिने चेतावनी दिइसकेका छन्।

संयुक्त राष्ट्रसंघसहित अमेरिका, चीन, फ्रान्स र रूसले क्षेत्रीय तनाव नबढाउन दुवै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन्। यद्यपि परिस्थितिको संवेदनशीलता हेर्दा पूर्ण युद्धको खतरा यथावत् रहेको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया