माछापुच्छ्रे क्यापिटलद्वारा निष्काशन गरिएको एमबीएल इक्विटी फण्डको आवेदन समय थप

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमबीएल इक्विटी फण्डको इकाई खरिदका लागि आवेदन दिने समय थप गरिएको छ। अब लगानीकर्ताले चैत ७ गतेसम्म आवेदन दिन सक्ने भएका छन्।

क्यापिटलका अनुसार यदि मागभन्दा बढी आवेदन प्राप्त भएमा चैत ७ गतेभन्दा अघि नै निष्काशन तथा बिक्री बन्द गर्न सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो फण्ड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

फण्डअन्तर्गत १५ प्रतिशत इकाईमध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी माछापुच्छ्रे बैंकका लागि सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापकका लागि छुट्याइएको छ। बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। आवेदनका लागि धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि-आस्बा प्रणाली प्रयोग गर्न सकिनेछ।

यस फण्डको लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कोष प्रवर्धकलाई 'केयर एनपी ट्रिपल बी प्लस इस्यूअर' रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले 'आईआरएन एएमसी क्वालिटि ३' रेटिङ्ग प्रदान गरेको छ।

प्रतिक्रिया