काँग्रेसको कोर मूल्यमा एमालेको आक्रमण : सांसद डा. शेखर कोईराला

काठमाडौं, असार ७ – नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसको आधारभूत मूल्य–मान्यतामाथि नेकपा एमालेले आक्रमण गरिरहेको आरोप लगाएका छन्।

विपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद कोईरालाले काँग्रेस सरकारमा भए पनि पार्टीको मौलिक मूल्यमा सम्झौता गर्न नसकिने स्पष्ट पारे। उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले "कुलिङ अफ पिरियड" हटाउने प्रयत्नलाई काँग्रेसले नस्वीकार्नुपर्ने धारणा व्यक्त गरे।

उनले भने, "हामी सरकारमा छौँ, उपाय छैन, ठिक छ। तर, जसरी हाम्रो कोर भ्याल्युजमा कम्युनिष्टहरुले, विशेष गरी एमालेले आक्रमण गरिरहेका छन्, त्यो मौनरूपमा हेर्नु दुःखद हो।"

कोइरालाले राष्ट्रिय सभामा एमाले सांसदहरूद्वारा ‘कुलिङ अफ पिरियड’ हटाउन संशोधन प्रस्ताव गरिएको विषय काँग्रेसको मूल्यमा आक्रमण सरह भएको टिप्पणी गरे। उनले काँग्रेसभित्रैबाट पनि कमजोरी भएको स्वीकार्दै सभापति, राज्य व्यवस्था समितिका सदस्य र आफूसमेत दोषी रहेको बताए।

“गल्ती हाम्रो पनि छ। तर सच्याउने नाममा उल्टै एमालेको प्रस्तावलाई स्वीकार गर्नु भनेको कोर भ्याल्युजमा आक्रमण हो। सभापतिजीले टेक एण्ड पेमा जसरी अडान लिनुभयो, अहिले पनि त्यही दृढता आवश्यक छ,” कोइरालाले भने।

त्यस्तै, भूमि सम्बन्धी विधेयक पारित गर्ने प्रक्रियामाथि समेत उनले प्रश्न उठाए। उनले हतारमा विधेयक पास गर्न खोज्नुको उद्देश्यप्रति शंका व्यक्त गर्दै, एमाले सांसदहरू छलफलबाट भागिरहेको आरोप लगाए।

–आमा दर्शन न्यूज

प्रतिक्रिया