गणतन्त्र : नाम होइन, जिम्मेवारीको अग्निपरीक्षा हो ।

गणतन्त्र : नाम होइन, जिम्मेवारीको अग्निपरीक्षा हो । 

गणतन्त्र कुनै शब्द होइन, यो जनताको रगत, पसिना र बलिदानले लेखिएको प्रतिज्ञा हो । यो त्यस्तो व्यवस्था हो जहाँ राज्यको मालिक जनता हुन्छन र शासन गर्नेहरू केवल सेवक । तर जब सेवक मालिक बन्न खोज्छ, त्यहीँबाट गणतन्त्रको आत्मा मर्न थाल्छ ।

गणतन्त्र भनेको जनताको हकअधिकारको रक्षा हो, न कि सत्ता टिकाउन संस्थाहरू कब्जा गर्ने खेल । अदालतलाई पार्टीको भर्ती केन्द्र बनाउने, सरकारी कार्यालयलाई झण्डाको रंगले रंग्याउने, योग्यताको सट्टा नातावाद र दलगत आस्थालाई प्राथमिकता दिने आदि आदि यी सबै कार्य गणतन्त्रका मुखमा कालो पोत्ने अपराध हुन् । न्यायालय स्वतन्त्र नभए न्याय मर्छ र न्याय मरेपछि गणतन्त्र केवल खोक्रो खोल बन्छ ।

प्रधानमन्त्री वा कार्यकारी नेतृत्वको पहिलो कर्तव्य हो जनताको जिउधनको सुरक्षा । जब नागरिक सडकमा असुरक्षित हुन्छन, जब आवाज उठाउँदा गोलीको उत्तर पाइन्छ, तब त्यो शासन गणतन्त्र होइन, डरको साम्राज्य हो । आन्दोलन दबाउन हिंसा प्रयोग गर्नु, त्यसपछि नैतिक जिम्मेवारीबाट भाग्नु यो कायरता हो, नेतृत्व होइन ।

गणतन्त्र संवादमा विश्वास गर्छ, दमनमा होइन । समस्या समाधानको पहिलो बाटो वार्ता हो, आतंक होइन । जनताको आवाजलाई शत्रु ठान्ने शासनले कहिल्यै स्थायित्व पाउँदैन । आवाज दबाएर शान्ति ल्याइन्छ भन्ने भ्रम केवल सत्ता लम्ब्याउने षड्यन्त्र हो ।

भ्रष्टाचार गणतन्त्रको क्यान्सर हो । जब नेता स्वयं भ्रष्टाचारमा डुब्छ, तब उसले कानुन होइन, आफ्नो स्वार्थको शासन चलाउँछ । अपराधीलाई संरक्षण दिने, सम्पदालाई कमिसनको नाममा मास्ने, राष्ट्रको आत्मा बेच्ने आदि आदि यी सबै कार्यले जनताको विश्वास टुक्राटुक्रा पार्छन । विश्वासबिना गणतन्त्र चल्दैन ।

अर्कोतर्फ, वैदेशिक सिद्धान्तको अन्धो नक्कल गरेर आफ्नै माटो, संस्कार र मानवीय मूल्यलाई बिर्सनु पनि गणतन्त्रको अपमान हो । गणतन्त्रको मूल आत्मा नै मानवता, समानता र स्वतन्त्रता हो । यदि यहीँ मर्छ भने बाँकी सबै केवल अभिनय हो ।

हुन त हामी प्रायः अरूको कमजोरी खोज्न व्यस्त हुन्छौं “अर्काको टाउकोको जुम्रा केलाउने” तर आफ्नो आँगनको भैंसी देख्दैनौं । तर साँचो गणतन्त्र आत्मालोचनाबाट सुरु हुन्छ । नेता मात्र होइन, नागरिक पनि जिम्मेवार हुनुपर्छ किनकि मौनता पनि अन्यायको सहमति हो ।

गणतान्त्रिक प्रधानमन्त्रीको दायित्व के के हुन्  ?

१. जनताको सुरक्षा सुनिश्चित गर्नु कुनै पनि हालतमा ।

२. न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष राख्नु ।

३. राज्यका अंगहरूलाई दलगत प्रभावबाट मुक्त गर्नु । 

४. भ्रष्टाचारमाथि शून्य सहनशीलता अपनाउनु ।

५. आन्दोलनलाई दमन होइन, संवादबाट सम्बोधन गर्नु ।

६. राष्ट्रको सम्पदा र पहिचानको संरक्षण गर्नु ।

७. आफ्नो गल्तीमा नैतिक जिम्मेवारी लिनु ।

र गणतान्त्रिक लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री पद कुनै सुविधा होइन, यो त जनताको भरोसाको भारी हो । त्यो भरोसा टुट्यो भने कुर्सी बाँकी रहन्छ तर शासनको आत्मा हराउँछ ।

अन्तमा, गणतन्त्र कागजमा लेखिएको संविधानले मात्र जोगिँदैन । नैतिकता, जवाफदेहिता र सत्यप्रतिको अडानले मात्र गणतन्त्र जोगिन्छ । यदि सत्ताले जनताको आँखामा आँसु र मुटुमा डर बनाउँछ भने, त्यो गणतन्त्र होइन, त्यो केवल नामधारी शासन हो । गणतन्त्र जोगाउन सबैभन्दा पहिले सत्ता होइन, चरित्र परिवर्तन आवश्यक छ । त्यो सबैले बुझ्नु जरुरी छ । वाद वादको कित्ताकाटमा हुर्केका नेपालीले आफ्नो स्वार्थ स्वरुपका बाहेक देशको हितमा कुरा गर्दै गर्दैन । नेपालमा यस्तो अवस्थाको, यस्तो प्रवृतिको गणतन्त्र छ जहाँ हार पनि जित्नकै लागि हो बुझ्नै बिर्सिसकेको अवस्थामा छ भने राम्रो बन्न खराब कुरा गर्नै पर्छ बाहेक अरु अन्य परिवर्तनमुखी विचार मान्दा दासत्व महसुस हुने संकीर्णताबाट जिर्ण हुने कुरा सर्वव्यापी देखिन थालेको छ । यस्तोमा केही कठिन हुन्छ । र गणतन्त्र हत्या गणतन्त्रकोकै नकाब ओढ्नेले गर्नेछ । जनताको हित नचाहनेले सोच्ने छ । 

प्रतिक्रिया