समीक्षा बैठक

१० नं क्षेत्रीय समिक्षामा नगर कमिटीका पदाधिकारी नै उपस्थित भएन।

आवश्यकता अनुसार सक्रियता र जिम्मेवारी नदेखिएको विषय आज संगठन भित्र गम्भीर चिन्ताको कारण बनेको छ। विशेषगरी क्षेत्र नं–१० को चुनावी समिक्षा कार्यक्रम जस्तो महत्वपूर्ण अवसरमा नगर कमिटीका पदाधिकारीहरूको उपस्थिति नहुनु केवल एक सामान्य कमजोरी होइन, यो संगठनप्रतिको जिम्मेवारीबोध र प्रतिबद्धतामाथि नै प्रश्न उठाउने विषय हो।

चुनाव केवल जित–हारको अंकगणित मात्र होइन, यो संगठनको अवस्था, नेतृत्वको क्षमता र कार्यकर्ताको विश्वास मापन गर्ने महत्वपूर्ण आधार हो। यस्तो अवस्थामा समिक्षा कार्यक्रम आयोजना गरी विगतका कमजोरीहरू पहिचान गर्ने, भविष्यका रणनीति तय गर्ने र कार्यकर्तालाई पुनः उत्साहित बनाउने दायित्व नेतृत्वको हुन्छ। तर, त्यही समिक्षा प्रक्रियामा नेतृत्व नै अनुपस्थित हुँदा कार्यकर्ताहरूमा निराशा र असन्तोष बढ्नु स्वाभाविक हो।

कीर्तिपुर भरिका एमाले सदस्य तथा समर्थकहरूको मनोबल खस्किनुको मुख्य कारण यही निष्क्रियता र जिम्मेवारीहीनता हो। जब नेतृत्व अग्रसर हुँदैन, तब संगठन कमजोर हुन्छ, कार्यकर्ताहरू अन्योलमा पर्छन् र जनतामा पनि गलत सन्देश जान्छ। यसले दीर्घकालीन रूपमा संगठनको विश्वास र आधार दुवै कमजोर बनाउने खतरा हुन्छ।

पदमा बस्नु केवल अधिकारको कुरा होइन, त्यो जिम्मेवारी र उत्तरदायित्वको पनि विषय हो। यदि पदाधिकारीहरूले आवश्यक सक्रियता देखाउन सकेनन् भने उनीहरूको भूमिकामाथि प्रश्न उठ्नु स्वाभाविक र उचित नै हुन्छ। अहिलेको अवस्थामा आत्मसमिक्षा, उत्तरदायित्वको स्वीकारोक्ति र सुधारको स्पष्ट योजना अत्यन्त आवश्यक छ।

अबको बाटो स्पष्ट हुनुपर्छ कि सक्रिय नेतृत्व, नियमित समिक्षा, कार्यकर्तासँगको निरन्तर संवाद र जनताका मुद्दामा स्पष्ट धारणा। यदि यस्ता कदमहरू चाल्न सकिएन भने संगठनप्रति कार्यकर्ताको विश्वास अझै कमजोर हुने जोखिम रहन्छ।

त्यसैले, अहिलेको आवश्यकता आलोचना मात्र होइन, जिम्मेवारीको पुनःबोध, नेतृत्वको सक्रियता र संगठनलाई पुनः ऊर्जाशील बनाउने ठोस पहल हो । नगर समितिका पदाधिकारी बाहेक प्रदीप ज्ञवाली, बिनोद श्रेष्ठ, हिराकाजी महर्जन , केश रत्न ब्रजाचार्य र बिन्दु महर्जन उपस्थित हुनुभएको थियो । 

प्रतिक्रिया