संसद : जनताको आस्था

संसद : आस्थाको मन्दिर कि स्वार्थको रंगमञ्च ?

संसद केवल एउटा भवन होइन, यो जनताको विश्वास, आशा र अधिकारको जीवित प्रतीक हो । यहाँ बोलिने प्रत्येक शब्दमा करोडौँ नागरिकको सपना मिसिएको हुन्छ, प्रत्येक निर्णयमा राष्ट्रको भविष्य गाँसिएको हुन्छ । त्यसैले संसदलाई केवल राजनीतिक खेल मैदानका रूपमा होइन, जनताको आस्था बोल्ने पावन स्थलका रूपमा बुझ्नुपर्छ । सभ्य सचेतना दर्शाउने गुरुकुल हो । 

जनताले आफ्ना प्रतिनिधिलाई संसदमा पठाउँदा केवल व्यक्तिलाई होइन, आफ्नो पीडा, आवश्यकता र आकांक्षा पनि सँगै पठाएका हुन्छन । संसद भनेको त्यही पीडालाई आवाज दिने, त्यो आवश्यकतालाई नीतिमा रूपान्तरण गर्ने र त्यही आकांक्षालाई उपलब्धिमा परिणत गर्ने थलो हो । यहाँ हुने बहसहरू केवल शब्दको टकराव होइनन्, ती त समाजका विविध विचारहरूको समन्वय हो । त्यसैले यहाँ पक्ष विपक्ष भन्दा नि निष्पक्षता अपनाउनुपर्छ । 

तर दुःखको कुरा, यही पवित्र स्थल व्यक्तिवाद, चाप्लुसी र क्षणिक स्वार्थको रंगमञ्च बन्न पुगेको इतिहास हामीसँग छ । हामी यस्ता दासत्वबाट मुक्त हुनुपर्छ । जब सांसदहरू आफ्नो कर्तव्यभन्दा बढी नेताको प्रशंसा गर्न व्यस्त हुन्छन, तब संसदको गरिमा घट्छ । जब जनताको मुद्दा ओझेलमा पर्छ र व्यक्तिको महिमा मञ्चमा चढ्छ, तब लोकतन्त्रको आत्मा नै कमजोर हुन्छ । हामी लोकतन्त्र कमजोर बनाउन सांसद बनेका होइनौं भन्न मनगनन्ते कुरा संसदमा राख्न हजार चोटि सोच्नु आवश्यक छ किनभने संसद तपोभूमि हो, जहाँ व्यक्तिगत स्वार्थ होइन, राष्ट्रिय हितको तपस्या गरिन्छ । यहाँ बस्ने प्रत्येक प्रतिनिधिले आफ्नो अहंकार त्यागेर जनताको सेवक बन्न सक्नुपर्छ । सत्ताको मोहभन्दा माथि उठेर सत्यको पक्षमा उभिन सक्नुपर्छ । संसदमा बोलिएको असत्यले केवल क्षणिक लाभ दिन सक्छ, तर त्यसले राष्ट्रलाई दीर्घकालीन हानि पुर्‍याउँछ भन्ने कुरा पनि हेक्का राख्नुपर्छ । 

त्यस्तै जनताको नजर सधैं संसदतर्फ हुन्छ । उनीहरूले हेर्छन को कसले आफ्नो आवाज उठाइरहेका छन भने को केवल मौन छ र को केवल प्रशंसामा व्यस्त छ । त्यसैले संसदमा बस्नेहरूका लागि यो केवल अधिकार होइन, गहिरो जिम्मेवारी पनि हो । जनताको विश्वास जित्न कठिन छ, तर गुमाउन धेरै सजिलो भन्ने कुराको पनि चेत खुल्नु आवश्यक छ ।

आजको आवश्यकता के हो भने संसद फेरि आफ्नो मूल स्वरूपमा फर्कियोस्, जनताको भावना बोल्ने, अधिकार सुनिश्चित गर्ने र राष्ट्रको मार्गचित्र बनाउने स्थलका रूपमा बनोस् । यहाँ बहस होस्, तर सभ्य, मतभेद होस्, तर मर्यादित; निर्णय होस्, तर जनहितमा ।

अन्तमा, संसदको शक्ति भवनमा होइन, त्यहाँ बस्ने मानिसहरूको निष्ठामा हुन्छ । यदि निष्ठा सच्चा भयो भने संसद सधैं पवित्र रहन्छ । यदि निष्ठा डगमगायो भने त्यो केवल एउटा रंगमञ्चमा सीमित हुन्छ । संसदलाई मन्दिर बनाउने कि रंगमञ्च बनाउने, यो निर्णय अब प्रतिनिधिहरूको मात्र होइन, सचेत जनताको पनि हो । र जनता बीच भ्रम फैलाउनेको फैसला जनताले गर्ने छन भन्ने कुराको पनि ज्ञान होस् । लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुन् । 


प्रतिक्रिया