जोमसोम—स्याउँले उत्पादन प्रसिद्ध मानिएको हिमाली जिल्ला मुस्ताङमा यसवर्ष स्याउ उत्पादन घटेको छ ।गतवर्षको तुलनामा यसवर्ष २४ दशमलव ५८ प्रतिशतले स्याउ उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
जलवायु परिवर्तनका कारण मौसममा आएको फेरबदलका कारण स्याउको फुल फुल्ने समय चैत्र÷बैशाख महिनामा स्याउ बोटमा परागसेचन(पोलेनेशन) हुन नपाएपछि स्याउ उत्पादन घटेको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङको भनाई छ ।जसका कारण मुस्ताङका किसानले स्याउ खेतीबाट यसवर्ष करोडौंका घाटा व्यवहोर्न बाध्य भएको केन्द्रले उल्लेख गरेको छ ।
आर्थिक वर्ष ०७९ /०८० मा ५८० हेक्टर स्याउ उत्पादनशील क्षेत्रबाट ६५९६ दशमलव ९२ मेट्रिक टन स्याउ उत्पादन भएकोमा आर्थिक वर्ष आर्थिक वर्ष ०८०/०८१ मा ५८५ हेक्टर स्याउ उत्पादनशील क्षेत्रमा ४९७५ दशमलव ३५ मेट्रिक मात्र स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष गतवर्षको तुलनामा तुलनामा यसवर्ष १६२१ दशमलव ५७ मेट्रिक टन स्याउ कम फलेको हो ।
आर्थिक वर्ष ०७७/०७८ मा मुस्ताङमा ५५६४ मेट्रिक टन स्याउ उत्पादन भएकोमा आर्थिक वर्ष ०७८/०७९ मा १ हजार मेट्रिक टन स्याउ बढी फलेर औसत १८ दशमलव ५६ प्रतिशत उत्पादन वृद्धि भएको थियो । तर,आर्थिक वर्ष ०७९ ०८० मा भने स्याउको फुल फुल्ने समयमा वर्षासंगै तुषारो परेपछि स्याउ उत्पादनमा ठुलो क्षति पुगेको हो ।
कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङले जिल्लाका ५ वटै स्थानीय तहका स्याउ किसानहरुको बगैचामा पुगेर गरिएको सर्वेक्षणका आधारमा मुस्ताङमा स्याउ उत्पादन घटेको तथ्यांक निकालेको हो । कार्यालयले क्रप कटिङ विधि र जिल्लाका स्याउ किसानहरुसंग सोधपुछ र भेरीफाई गरी स्याउ उत्पादनको तथ्यांक निकालेको हो । त्यसो त स्याउ बगैचा व्यवस्थापन तथा स्याउको अनाआवश्यक हाँगाबिगा कटिङ गर्ने र विषादीहरुको समुचित प्रयोग गर्ने समयमा हिमपात नहुँदा पनि मुस्ताङको स्याउ खेतीमा प्रत्यक्ष÷परोक्ष रुपमा असर परेको बताइएको छ ।
आर्थिक वर्ष ०७८ /०७९ मा मुस्ताङमा स्याउ उत्पादनमा कमी आएपनि आर्थिक कारोबारका हिसावले गतवर्षको तुलनामा आशिंक कम रहेको कार्यालय प्रमुख बस्ताकोटीले बताए । आर्थिक वर्ष ०७९/०८० मा ५९ करोड ३७ लाख मुल्य बराबरको स्याउ उत्पादन भएकोमा यसवर्ष ३ दशमलव ६ प्रतिशतले गिरावट आएको उनले जनाए ।
कृषि ज्ञान केन्द्र मुस्ताङले आर्थिक वर्ष ०७९ / ०८० मा कुनै निश्चित क्षेत्रफलमा फरक÷फरक विधिबाट स्याउ औसत उत्पादनको मापन गरेको हो ।जसअनुसार कार्यालयले गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष ०७९ ०८० मा मुस्ताङको थासाङ गाउँपालिकाको कुल १०८ हेक्टर स्याउ उत्पादनशील क्षेत्रबाट ५५१ दशमलव ८८ मेट्रिक टन,घरपझोङ गाउँपालिकाको २८२ हेक्टर क्षेत्रफलबाट २४०२ दशमलव ६४ मेट्रिक टन,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १८३ हेक्टर क्षेत्रफलबाट १९२३ दशमलव ३३ मेट्रिक टन,लोघेकर दामोदरकुण्ड गाउँपालिकाको १२ हेक्टर क्षेत्रफलमा ९५ मेट्रिक टन र लोमान्थाङ गाउँपालिकाको ०.२५ हेक्टर क्षेत्रफलबाट १ दशमलव ९९ मेट्रिक टन स्याउ उत्पादन भएको हो ।
मुस्ताङका ५ स्थानीय तहमध्ये सबैभन्दा बढी स्याउ घरपझोङ गाउँपालिकामा उत्पादन भएको छ भने सबैभन्दा कम स्याउ उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा फलेको हो ।यसैगरी घरपझोङपछि वारागुङ मुक्तिक्षेत्र ,थासाङ र लोघेकर दामोदरककुण्ड स्याउ उत्पादन गर्नेमा क्रमश ः दोश्रो,तेश्रो र चौथो स्थानमा छन् ।
मुस्ताङमा पछिल्लो समय स्याउ खेतीतर्फ किसानको आर्कषर्ण बढेको छ । यहाँ उत्पादन गरिएको स्याउ ढुवानीको सहजता र व्यापारीले बोटमै किसानको स्याउ ठेक्का मार्फत खरिद गरी लैजाने भएकाले स्याउ खेतीतर्फ किसानको आर्कषण बढेको जोमसोमका किसान अजित थकालीले उल्लेख गरे ।
मुस्ताङमा बर्सेनि स्याउ बगैचाको क्षेत्रफल वृद्धि भईरहेको छ । कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङका अनुसार १४९५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको हो । गतवर्षसम्ममा कुल १४७५ हेक्टर जमिनमा स्याउ खेती बिस्तार गरिएकोमा यसवर्ष थप २० हेक्टर क्षेत्रफलमा स्याउ खेती बिस्तार भएको हो ।मुस्ताङमा खेर गईरहेका बाँझो जग्गा र नदी र शाखा नदीको तटीय खाली जमिनमा स्याउ सामुहिक र व्यक्तिगत रुपमा स्याउ खेती बिस्तार भईरहेको छ । कृषि ज्ञान केन्द्र कार्यालयमा झन्डै १५० भन्दा बढी कृषि सहकारी,फार्म,समुह आवद्ध छन् । यसरी दर्ता भई केन्द्रसंग जोडिएका संस्थाहरुलाई विभिन्न तालिम,बिषादी ,कम्पोष्ट मल ,र स्याउ विरुवा खरिदमा अनुदान उपलब्ध गराईने गरिएको छ । गण्डकी प्रदेश सरकारले मुस्ताङमा व्यवसायिक स्याउ खेती बिस्तार अन्तर्गत स्याउ विशेष कार्यक्रममा बर्सेनि उच्चघनत्व प्रविधिमा आधारित स्याउ (हाईब्रिड) बिरुवा खरिदमा ७५ प्रतिशत अनुदान दिने गरेको छ । केन्द्रले यहाँ स्याउ ब्लक कार्यक्रम समेत संञ्चालन गर्ने गरेको छ ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत स्याउ विेशेष कार्यक्रम अन्तर्गत मुस्ताङको मार्फा र टुकुचेमा स्याउ संकलन,प्रशोधन, ग्रेडिङ र स्याउले साविक जस्तै ताजा राख्न दुई वटा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण गरिसकेको छ । प्रदेशले त्यहाँ सय÷सय टन स्याउ अट्ने कोल्ट स्टोर ८५ प्रतिशत अनुदान दिएर निर्माण गरेको हो । जसका लागत एक कोल्ड स्टोरको १ करोड २५ लाख रहेको छ । यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन ईकाई मुस्ताङले पनि १० टनदेखि २० टनसम्मका स्याउ भण्डार कोल्ड स्टोर निर्माण गरिसकेको छ ।
धार्मिक तथा पर्यटकी जिल्ला मुस्ताङमा पर्यटकले सिजनमा मात्र होईन बेमौसममा समेत मुस्ताङको स्याउ चाख्न पाउँने वातावारण सृजना गर्न र कृषकहरुले बढी भन्दा बढी स्याउबाट आर्थिक लाभ लिन सक्ने हेतुले प्रदेश सरकार तथा संघीय सरकार र स्थानीय तहहरुले कोल्ड स्टोर निर्माणमा जोड दिएका हुन् ।
मुस्ताङमा पुस र माघ महिनामा स्याउ खेती व्यवस्थापन सुरु हुन्छ । यसरी व्यवस्थापन गरिएको स्याउ भदौको अन्तिममा पोस्ट होभेस्ट गर्न योग्य हुन्छन् । यहाँ उत्पादन गरिएको स्याउ स्थानीय र जिल्लाबाहिरका ब्यापारीले ठेक्का मार्फत बजार पू¥याउछन् । कुल उत्पादनको करिव २० प्रतिशत स्याउ मुस्ताङमै खपत हुने गरेको छ । मुस्ताङमा प्रति केजी १५० रुपैयासम्ममा स्याउ बिक्री भएको थियो ।
विश्वकै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रलाई समेत नकारात्मक प्रभाव पार्दै गईरहेको जानकारहरु बताउँछन् । जलवायुका कारण हिमाली क्षेत्रको तापमान वृद्धि हुनु, सेता हिमालहरु कालापत्थरमा परीणत हुनु, पानीनै नपर्ने मुस्ताङमा पछिल्लो ३० वर्षमा ६ गुणा बढी वर्षा हुनु र असमान प्रकारको हिमपात हुनु आदी कारणले यहाँको स्याउ खेतीको भविष्यमा प्रति चिन्ता व्यक्त हुन थालेको छ । तापक्रम वृद्धिसंगै स्याउ खेतीले उकालो बसाई सर्दै जानथालेको ,स्याउ बोट स्क्याप लगायतका विभिन्न रोगसंक्रमण देखा पर्न थालेकाले त्यसको असर स्याउ खेतीमा देखिन थालेको हो ।
मुस्ताङमा उन्नत जातका रेड डेलिसियस,रोयल डेलिसियस,गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस स्याउको व्यवसायिक खेती गरिएको पाईन्छ । यसैगरी विगत ५ वर्षअघि भित्रिएको उच्चघनत्व प्रविधिमा आधारित (हाईब्रिड) स्याउ अन्तर्गत गाला,फुजी,गोल्डेन डेलिसियस,किङरोट ,रेड डेलिसियस र जोना प्रिन्स जातका स्याउ खेती गरिएको छ ।