स्मार्ट रिभोलुसन - गन्जागोल मुद्धा भद्रगोल देश

 जेन जी आन्दोलन 

 नेपाल र नेपाली आफ्नै सुरसारमा थिए। देश र जनताको विजोग उस्तै थियो। नेताहरु मस्त देश लुटिरहेका थिए। विदेसीनेको लर्को उस्तै थियो। देश विदेशमा समेत रहेका नेपालीहरु आउँदै गरेको नेपालीको महान पर्व दशैँ र तिहारको तयारी गर्दै थिए। विदेशबाट नेपाल फर्किन चाहनेहरु हवाईजहाजको टिकेट काट्दै शपिङ गर्दै थिए। बजार चलायमान हुँदै थियो। सबैकुरा आफ्नो गतिमा बढ्दै थियो। भदौको तेस्रो साता चल्दैगर्दा भित्रभित्रै केहि युवाहरु सरकारमा बस्ने र सत्तामा बसेर देश लुट्ने नेताहरुको सर्वस्वहरण गर्ने तयारीमा जुट्दै थिए। 

 संसारभर ट्रेन्डमा चलिरहेको (नेपोबेबी ट्रेन्ड )नातावाद को भन्डाफोर नेपालमा दुईतिनदिनमै हावासरी फैलियो। फैलाउन चाहने त त्यसै यो कुरा चाहन्थे जसले जसले थाहा पायो सबै आक्रोशित बन्न पुगे । आफ्ना आमाबुबाले जिन्दगीभर दुख गरेर कमाएको पैसाले पढ्न समेत कठिनाई भोगिरहेका जेन जी मात्र हैन चालिस मुनिका सबै युवाहरु नातावादको बिरुद्ध खनिए। ठिक त्यहि समयमा सरकारले दर्ताको कारण देखाएर फेसबुक लगायत सामाजिक सन्जाल बन्द गरिदियो। अर्थात युवाहरुमा भ्रष्टाचारको विरुद्धमा बलिरहेको आगोमा घ्यु थप्ने काम सरकारले गर्यो। 

 भदौ २३ गतेबाट आन्दोलन सुरु हुने हल्ला चल्न थाल्यो । जेन जी नामक फेसबुक पेजमा सबै अपडेट भैरहेको थियो ।  आन्दोलन सफल बनाउन युवाहरु सक्रिय भएर लागे । सडकमा देखिइरहेका पुराना अनुहार र युवाहरुमा जनताले अपेक्षा गर्न कम गरिरहेका थिए। यसर्थ यसपटक नयाँ अनुहारहरु देखिए। त्यसले नयाँलाई जोड्ने काम गर्यो। एउटै फेसबुक पोष्टले हजारौ युवालाई उमाल्न उचाल्न सक्ने काठमाडौं महानगरका मेयर बालेन साहले र रुटिन अफ नेपाल बन्दले गरेको अपिलले अझै धेरै युवा जुट्न मद्धत पुर्यायो। प्रविधिको ज्ञान भएकाहरुले विशेषगरी ह्याकरहरु पनि यसमा सकृय भएका र कन्टेन्ट कृयटरहरुले पनि आफ्नो कन्टेन्ट बिक्ने भएकाले सबैले यो आन्दोलनको नायक आफैलाई ठाने । यो आन्दोलन भ्रष्टाचारको विरुद्ध थियो त्यसैले सबै क्षेत्रका युवाहरु स्वस्फुर्त सडकमा उत्रीने पक्का भैसकेको थियो । आन्दोलनका योजनाकारहरुले जेन जी आन्दोलन राखेर यो आन्दोलनलाई एक पुस्तामा जोडिदिनाले झनै काम गर्यो । 

 

 जेन जी आन्दोलन भएकोले यो कलिला वालवालिकाको आन्दोलन हो भनेर पक्का थियो । भदौ २३ गते बिहानैदेखी माइतिघर मण्डलामा जेन जी पुस्ताका युवाहरु कोहि हेर्न कोहि आन्दोलनमा सरिक हुन त कोहि आन्दोलनलाई प्राविधिक सहयोग गर्न आइपुगे। नेपालको राजनितिमा उदाउँदो पात्र वालेन साहले भनेझै जेन जी हरु स्कुल ड्रेसमै आन्दोलनमा आए। आन्दोलनमा अपेक्षा गरिएको भन्दा ठुलो हुल जम्मा भैसकेको थियो। हुल माइतिघरबाट बानेस्वरतिर बढ्यो। बिगतमा भएका आन्दोलनमा पनि माइतिघरबाट बानेस्वरसम्म नाराजुलुस गर्ने चलिरहन्थ्यो । यो शान्तीपुर्ण आन्दोलन त्यहि लयमा बढेको भान भयो। तर जब काठमाडौं जिल्ला प्रमुख अधिकारीले कर्फ्यु जारी गरेपछि भने माहौल अर्कै बन्यो। केहि समयमै बानेस्वर क्षेत्र  युद्धभुमी बन्यो । दर्जनौँ कलिया युवाहरुले ज्यान गुमाए सैयौँ घाइते भए । 

 भ्रष्टाचारविरुद्ध र अनपेक्षित रुपमा उत्रीएको पहिलो दिनको जेन जी पुस्ताको हत्याकाण्ड मच्चाएर सत्ता जोगाउने तत्कालीन प्रधानमन्त्री केपी ओलिको चाल विपरित दोस्रो दिन । विहानैदेखी आन्दोलनमा मान्छेहरु सडकमा निस्किन थाले। केहि घन्टामै काठमाडौंका सैयौँ पुलिस चौकीहरु खरानी बने। संसद भवन ,  सिंहदरबार,  राष्ट्रपति निवास,  प्रधानमन्त्री निवास ,  मन्त्रीहरुका निवास सबै जले। भ्रष्ट कहलिएका दलका पुराना नेताहरुका घरहरु जलेर खरानी बने । नेताहरुका घर मात्र जलेनन घरमा भएका करोडौँ करोड रुपैयाँ र डलर समेत केहि आन्दोलनकारीले लगेपनि केहि भने जल्न पुगे। 


 नेपाल पुलिस मात्र सत्ताधारीको प्रपञ्च मा फस्न पुग्यो जसको प्रतिफल नेपाल पुलिसले यो आन्दोलनबाट सबैभन्दा बढि क्षति भोग्न पुग्यो। सशस्त्र र नेपाल आर्मीले भने आन्दोलनकारीलाई दबाएनन तर मुकदर्शक बनेर बसे। केपी ओलिले राजिनामा दिउसै दिएका थिए तर आन्दोलनकारी रोकिएनन प्रधानमन्त्रीको राजिनामापछि पनि धेरै ठाउँहरु जले । धेरै तोडफोड भयो ,  जेलहरु तोडिए,  कैदिहरु भाग्न थाले , साँझ पर्न लागेपछि भने चोर र अपराधीहरु चोरीडकैती गर्न थाले। राति 10 बजेबाट नेपाल आर्मीले कर्फ्यु लगायो। 


 स्मार्ट जेनेरेसनको स्मार्ट सडक आन्दोलनबाट दुई दिनमै सत्ता ढल्यो । यो स्मार्ट आन्दोलन यसकारण थियो कि यो स्मार्टफोन चलाएर हुर्किएका जेन जी पुस्ताले लिड गरेका थिए अनि यसमा भाग लिनेले सोचेभन्दा ठुलो उपलब्धि हासिल गरे । दुई दिने आन्दोलनमा ७५ बढिले ज्यान गुमाए। सरकार ढल्यो । केहि समयका लागी देश सेनाको जिम्मामा गयो। आन्दोलन सकियो ।

 

 भ्रष्टाचार अन्त्य र दिगो सरकारको माग गरेर सुरु गरिएको आन्दोलन विद्रोहमा बदलियो। दुई दिनमा सत्ता पल्टियो । अब सुरु भयो अफवाह , रातारात सबै पक्ष हावी भए । सेनालाई त नयाँ पुस्ताले विश्वास गरेका थिए । सेनाले सहजकर्ताको रुपमा काम गर्यो किनकि यो समयको अपेक्षा सेनाले पक्कै गरेको थिएन नत्र मौका आउँदा सेना बुख्याचा बनेर बस्ने पनि थिएन झट्ट हेर्दा सेनाले सम्बिधान जोगाएको भनियो तर देशको सम्पत्ति जल्दा टुलुटुलु हेर्ने सेना बुख्याचाभन्दा बढि केहि देखिएन। सेनाको एउटै जवाफलाई सम्मान गर्न सकिन्छ त्यो हो नेताको सम्पत्ति र कुकर्मलाई संरक्षण गर्न जनताको छोराछोरी मार्न सकिन्न । जेन जी आन्दोलनबाट भविष्यमा सेनाले देशको रक्षा गर्ने कि जनताको भन्ने सवाल भने उब्जाएको छ जबकी जनताले गलत गर्दा पनि सेना टुलुटुलु हेरेर बसेको थियो भलै त्यो गलत बिद्रोहको थियो। 

 

आन्दोलन सकियो भन्न सकिने अवस्था थिएन । आन्दोलन को सफलता विजय जुलुसले प्रष्ट्याउँथ्यो त्यो हुन दिइएन अर्थात आन्दोलन सफल भएको कुनै प्रमाण नै रहेन । देश सेनाको हातमा गएकै थियो । 70 बढिको मृत्यु भएको थियो । आन्दोलन आह्वान गर्ने युवाहरु कुनै दुलामा लुकेर बसेका थिए । अहम समयमा सुदन गुरुङ जसले हामी नेपाल एनजिओ चलाईरहेका थिए उनले हिम्मत गरेर भनौँ य कसैको इशारामा आन्दोलनको प्रमुख भएको दाबी गरेर उभिए। जे गरे सहि गरे कसैले त आन्दोलनपछिको अवस्थाबाट देशलाई निकास दिनैपर्ने थियो। 

 उनकै भनाईमा सुदन गुरुङ आफै  पनि आन्दोलनको मुद्धासँग परिचित थिएनन अर्थात उनि राजनितिक व्यक्ति थिएनन। 

 आन्दोलन मा जानेहरु सबैका आफ्ना आफ्ना मुद्धा थिए । सबैको एउटा मुद्धा कमन थियो भ्रष्टाचार  निवारण । भ्रष्टाचार निवारण बाहेक अरु मुद्धा गन्जगोल थिए। प्रदेश प्रदेश खारेज , संसद विघटन जुन पछि आयो ,  प्रत्यक्ष निर्वाचित कार्यकारी,  सम्बिधान संसोधन - जुन संसद नभएपछि हुन संभव थिएन। आन्दोलनको अगाडि कहिँकतै नदेखेइकी पात्र शुशिला कार्कीलाई दोस्रोदिन हल्का मिडियामा देखाईयो । युवाले आशा गरेका बालेन शाह देश सम्हाल्न हच्किए । पुर्वबाट प्रधानमन्त्री बन्छु भनेर आएका हर्क साङपाङलाई बेइज्जत गरेर फर्काईयो जबकी तत्कालिन समयमा बालेनपछि उनि हकदार देखिन्थे । धेरै नेपाली अपरिचित रहेकि डिस्कोर्डबाट लगभग 3800 भोट शुशिला कार्कीको पोल्टोमा हालेर प्रधानमन्त्रीको सिंहाशनमा लगेर कसैले रखिदियो  भन्दा अन्यथा नहोला । इमोशनल फुल नेपालीहरुलाई पहिलो महिला प्रधानमन्त्री भनेर मक्ख पारियो। भारतिय केहि मिडियाका अनुसार उनि नेपालमा प्रधानमन्त्री बन्ने पक्का हुनुभन्दा 24 घन्टा अगाडि भारतमा उनि प्रधानमन्त्री बनेको हल्ला भैसकेको थियो। 

 

दलका नेताहरु जनताको आक्रोशमा परेर घर न घाट का भैसकेका थिए । उनिहरु मध्य कोहि बोल्नै नपाउँदै संविधान बाहिर गएर देशले नयाँ प्रधानमन्त्री पाईसकेको थियो। अनि संविधान बाहिर नै गएर संसद विघटन भैसकेको थियो। यो सबै भन्नुको तात्पर्य जेन जी का मुख्य माग सम्बोधन गर्नुपर्ने बेलामा प्रधानमन्त्रीले संबिधानको कुरा उठाउनुले भने सबै छक्क परेकै थिए। 

 जेन जी आन्दोलनका खास मागहरु सामान्य थिए। तर जब आन्दोलनले विकराल रुप लियो तब नयाँ नयाँ मागहरु आउन थाले। अझै पनि जेन भनेर सडकमा आउने सबै मानिस यो आन्दोलनका हिस्सा हुन या हैनन भन्ने भ्रम छ किनभने दुइचार जनाले म जेन जी त जेन जी भन्दैगर्दा एउटा पुस्तामाथी दुइचारजना नेता बनेर हाबी भएका त हैनन भन्ने प्रश्न उब्जिएको छ। 

 आन्दोलनको योजनामा सामेल बालेन साह मिराज ढुङ्गाना र अन्य केहि आन्दोलनमा सहभागी नै नहुनु । आन्दोलन सफल हुने लक्षण देखिएपछि जस लिन सागर ढकाल डडेलधुराबाट आउनु । लामो समयदेखी सरकारका कुकर्मको विरोध गरिरहेका युवाहरु आन्दोलनमा अग्रभागमा हुँदा पनि उनिहरुलाई सकेसम्म पन्छ्याईनु जस्ता कुराले आन्दोलनको बाहिरी देखिएको माग भ्रष्टाचार निवारण ,  स्थिर सरकार ,  प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता मुद्धा भएपनि रहस्यमय रुपमा देश जल्नुले शंका भने उत्पन्न गरेको छ। 

 आन्दोलन सकियो। नयाँ सरकारले सबैभन्दा पहिला चुनावको घोषणा गरेर आन्दोलनकारीलाई फकाएको र दलहरुलाई थमथमाएको भएपनि आन्दोलनको उद्धेश्य र मुद्धामा भने शिन्को भाचिएको देखिँदैन। अन्तरिम गैरदलिय सरकारमा प्रसिद्ध मानिसहरु हुनुले तत्काललाई दल बाध्य भएर र आन्दोलनकारी खुसीले मौन छन । यो मौनता दिर्घकालिन भने हैन। 

 जेन जी आन्दोलनले के उपलब्धी दियो भनेर लिस्ट बनाईहाल्न अहिल्यै हतार हुनसक्छ । तर देशलाई भद्रगोल बनाएको भने पक्का छ। बालेन साहको सत्तामोह ,  रवि लामिछानेको जेलमुक्ति चाहना,  नेताहरुको नालायकिपन,  वैदेशिक चलखेल,  युवापुस्ताको आक्रोश,  ध्वस्त अर्थतन्त्र,  देशप्रतिको नेता र जनता दुबैको गैरजिम्मेवारीपनले आन्दोलनमा मलजल गर्ने काम गर्यो र देशलाई भद्रगोल बनाइयो। 

 संयोग कस्तो छ भने विगतमा संसद विघटन गर्ने व्यक्ति प्रधानमन्त्री भएको बेला संसद विघटन हुँदा त्यो संविधान विपरित हो गलत हो भन्ने शुशिला कार्की आन्दोलनपछि आन्दोलनकारी 3-4 हजारको पहलमा प्रधानमन्त्री बनेर संसद विघटन गरिसकेकी छन । 

जे नहुनु थियो भैसक्यो अब जे हुनुपर्ने हो त्यो भने हुन बाकीँ छ। आन्दोलन भएको एक महिना बित्नै लाग्दा पनि आन्दोलन दबाउन खोज्नेको विरुद्ध पासपोर्ट रद्ध गरेर आन्दोलनकारी खुसी बनाउन खोजेको भने देखिन्छ । गल्ति गर्ने कोहि छुट्नुहुँदैन कानुनले त्यहि भन्छ। ठिक त्यहि समयमा देशका मुख्य मुख्य कार्यालयहरु ,  संवेदनशील ठाउँहरु आन्दोलन सकिएपछि जलाउनेमाथी आजको सरकारले केहि गरोस या अनगरोस भविष्यमा आउने लोकपृय सरकारले अपराध मानेर कारवाही गर्ने पक्का छ। किनकि जो सडकमा थिए तोडफोडमा थिए जलाउने ठाउँमा थिए ति राजनितिको उच्च ओहोदामा पुग्ने सम्भावना न्युन छ। संविधान विपरित केहि गर्दिन भन्ने प्रधानमन्त्रीलाई भने एउटा आन्दोलनको बलमा फुत्त प्रधानमन्त्री बन्दा संविधानसम्मत भन्ने कसरी लाग्यो जबकी संसद रहँदै उनि प्रधानमन्त्री बनेकी हुन। जेन जी आन्दोलन विगतमा भएगरेका आन्दोलनभन्दा फरक हो। यो आन्दोलनमा पुरौ अहिलेका 13 देखी 28 वर्षका कलिला भाईबहिनिहरु जोडिन्छन्। देशले राम्रो गति लियो भने ठिक हो नत्र यो आन्दोलनले यो पुस्ताको भविष्य झन संकटमा पार्न सक्ने देखिन्छ। 


 यो आन्दोलन जुन उद्धेश्यले भयो त्यो पक्कै संवैधानिक सरकार गिराएर अन्तरिम सरकार बनाउनु मात्र हैन ।देशलाई अस्थिरतातिर धकेल्नु पनि पक्कै हैन। देशमै भविष्य खोजिरहेको एक पुस्ताका जायज मागहरु सम्बोधन गरेर देशलाई निकास दिन सके यो आन्दोलन र सरकार दुबै सफल कहलिनेछन र भविष्यमा सत्ताशिनलाई ,  नेताहरुलाई र दलहरुलाई बाटो बिराउन दिनेछैन । अपराधि जो कोहि भएपनि सजाय पाउनुपर्छ । भ्रष्ट र अपराधिलाई कारवाहि गर्दा प्रतिशोधको नाम दिनु हुँदैन । देश सबैको हो सबैका लागि देश र कानुन बराबर हो भन्ने भावनाका साथ अघि बढ्न सके देश र जनता दुबैको लागि फाइदा हुनेछ। अब सबै मिलेर देशलाई निकास दिनु आवश्यक छ। नेपाल रहे हामी नेपाली रहने हौँ।

प्रतिक्रिया