काठमाडौंमा महिलाको शव सडकमा फालिएको घटनामा एक व्यक्ति पक्राउ

काठमाडौं, कालिमाटी – गत शुक्रबार बिहान कालिमाटीस्थित सडकमा फेला परेको एक महिलाको शवको घटनामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। घटनाको अनुसन्धानमा लागेका प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति बझाङका कविन्द्र मल्ल हुन्, जो लागुऔषध सेवनकर्ता रहेको पाइएको छ।


शुक्रबार राति करिब ३ बजे मल्लले महिलाको शव करिब ६०–७० मिटर दूरीसम्म बोकेर सडकमा राखेको सिसिटिभी फुटेजबाट पुष्टि भएको छ। पक्राउ परेका मल्लले सिसिटिभी फुटेजमा देखिएको व्यक्ति आफू भएको स्वीकार गरेका छन्। यद्यपि, उनले घटनाको स्पष्ट सम्झना नभएको बताएका छन्।


मृतक महिलाको सनाखत उदयपुरकी जानुका सुवेदीका रूपमा भएको छ। प्रहरीका अनुसार जानुका कालिमाटी क्षेत्रमा फुटपाथमा बस्ने गर्थिन्। प्रारम्भिक अनुसन्धानमा मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ।


महिलाको मृत्युको कारण स्पष्ट गर्न पोष्टमार्टम रिपोर्टको पर्खाइ गरिएको छ। प्रहरीका अनुसार घटना हत्या हो वा प्राकृतिक कारणले मृत्यु भएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ।


प्रहरी वृत्त कालिमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ।


Aama Darshan News

प्रतिक्रिया