ललितपुर, – डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई पुनः आफ्नो ब्रान्ड प्रवर्द्धकको रूपमा अनुबन्ध गरेको छ। ऐरीसँगको सम्झौतामा एक वर्ष थप गरिएको हो।
आज एक कार्यक्रमको आयोजना गर्दै, ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र दिपेन्द्र सिंह ऐरी बीच पुनः सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
कार्यक्रममा, ऐरीले ईसेवा मनि ट्रान्सफरसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुशी व्यक्त गर्दै, कम्पनीको डिजिटल रेमिट्यान्स सेवाको प्रचारमा महत्वपूर्ण भूमिका खेल्ने बताए। सम्झौताअनुसार, ऐरी आगामी समयमा ब्रान्ड प्रवर्द्धकको रूपमा कार्य गर्दै ईसेवा मनि ट्रान्सफरको सेवाको प्रचार गर्नेछन्।
ईसेवा मनि ट्रान्सफरले २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेपछि परम्परागत र डिजिटल माध्यमबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। इसेवा मनि ट्रान्सफर, एफवान सफ्ट ग्रुपअन्तर्गतको एक प्रमुख संस्था हो, जसले नेपालभर फिनटेक आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ।