विद्यार्थीको कपाल जथाभावी नकाट्न काठमाडौं महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीहरूको कपाल जथाभावी नकाट्न महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सर्कुलर जारी गरेको छ ।


महानगरले बुधबार जारी गरेको सर्कुलरमा केही विद्यालयहरूले छात्रको कपाल लामो भएको भन्दै विद्यालयमै जथाभावी मुन्डन गरिदिने कार्य गरेकोबारे जनगुनासो प्राप्त भएको उल्लेख गरेको छ । यस्तो कार्यले विद्यार्थीमा नकारात्मक मनोवैज्ञानिक असर परेको भन्दै महानगरले ध्यानाकर्षण गराएको छ ।


महानगरपालिकाले विद्यार्थीमाथि शारीरिक वा मानसिक यातना नहुने गरी आचारसंहिता पालना गराउन विद्यालय व्यवस्थापन समितिहरूलाई अनुरोध गरेको छ ।


सर्कुलरमा भनिएको छ, “शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) अनुसार विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्नुपर्ने र नियम १३३ (१) (ट) अनुसार विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने स्पष्ट व्यवस्था रहेको सन्दर्भमा विद्यार्थीलाई कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना नहुने गरी आचारसंहिता पालना गराउन अनुरोध छ।”


महानगरपालिकाले बालमैत्री शैक्षिक वातावरण सुनिश्चित गर्न विद्यालयहरूलाई कानुनी व्यवस्थाको पूर्ण पालना गर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया