काठमाडौं, साउन ३, २०८२ – आमा दर्शन न्यूज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालको संघीय शासन प्रणालीमा सुधार आवश्यक भएको भन्दै प्रदेश सभा खारेज गर्नुपर्ने स्पष्ट अभिव्यक्ति दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै सांसद झाले रास्वपाको नीति नै प्रदेश संरचना कायम राख्दै, तर सभा हटाउने रहेको बताए।
“हामी २१ वटा मन्त्रालयबाट १५ मा झार्न चाहन्छौं। प्रदेश रहन्छ, तर प्रदेश सभा खारेज हुनुपर्छ भन्ने हो। त्यसपछि स्थानीय तह र पालिकाका प्रतिनिधिहरू प्रदेश सभामा सहभागी हुने व्यवस्था गरिनुपर्छ। यसले प्रदेश र स्थानीय तहबीचको समन्वय अझ प्रभावकारी हुन्छ,” उनले भने।
संघीय खर्च कटौतीमा जोड
रास्वपाका सांसद झाले संघीय खर्चमा कडाइ गर्ने पार्टीको रणनीति पनि स्पष्ट पारे। उनका अनुसार सरकारको ढाँचा कम गर्नुका साथै विगतमा बनाइएका तर निष्क्रिय रहेका आयोग तथा नियोगहरूलाई पनि खारेज गर्नु आवश्यक छ।
“अहिले ११२ वटा आयोग र नियोग छन्, जुन विभिन्न कालखण्डमा बनाइएका हुन्। तीमध्ये धेरैले अहिले काम गरिरहेका छैनन्, तर गाडी, कार्यालय खर्च, तलब सबै चलिरहेको छ। यस्तो बन्द गरियो भने वार्षिक २–४ अर्ब रुपैयाँसम्म बचत गर्न सकिन्छ,” उनले बताए।
विपक्षी दलप्रति कटाक्ष
कार्यक्रमको दौरान उनले नेपाली काँग्रेस र नेकपा एमालेजस्ता पुराना दलहरूमा योजना र सिद्धान्तको अभाव रहेको टिप्पणी गरे। उनले आरोप लगाए कि ती दलहरू रास्वपाको प्रतिक्रिया दिने बाहेक आफ्नो स्पष्ट दिशा देखाउन असफल छन्।
“हामी बोलेपछि उनीहरू जवाफ दिन्छन्। सत्तापक्ष संसदमा प्रतिपक्षको खण्डन गर्दैन। अब सत्तापक्षलाई हामी (रास्वपा) ले संसदीय अभ्यास सिकाउने बेला आएको छ,” उनले भनाइमा जोड दिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार