नेपाल सरकारद्वारा टिकटक प्रतिबन्ध फुकाउने तयारी

काठमाडौँ, भदौ ४: नेपाल सरकारले १० महिनाअघि बन्द गरिएको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकाउने तयारी गरेको छ। गत वर्षको कात्तिक २७ गते सामाजिक सद्भाव खल्बलिने गतिविधि भएको भन्दै तत्कालीन प्रचण्ड नेतृत्वको सरकारद्वारा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो। तर, अब सरकारले टिकटक पुनः सञ्चालनमा ल्याउने योजना बनाएको हो।


सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिबन्ध फुकाउने सम्बन्धमा आवश्यक अध्ययन गर्न कर्मचारीलाई निर्देशन दिइसकेका छन्। सरकारले तीन महिनाभित्र टिकटकलाई नेपालमा सूचीकरण गर्ने गरी पुनः सञ्चालनको योजना बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस सम्बन्धमा सहमति जनाउने संकेत दिएका छन्, जसपछि मन्त्रालयले अध्ययन र प्रक्रिया अघि बढाउन थालेको हो।

यसअघि, टिकटकले नेपालमा दर्ता भएर कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउँदै नेपाल सरकारलाई पत्राचार गरेको थियो। टिकटकले आफ्ना गतिविधिहरूलाई नेपालको कानुनी ढाँचामा ढालेर सञ्चालन गर्न तयार रहेको स्पष्ट पारेको छ। यसै सन्दर्भमा, नेपाल सरकारले टिकटक प्रतिबन्ध फुकाउने निर्णय लिने सम्भावना देखिएको छ।

© 2024 Aama Darshan News/News: Reporter

प्रतिक्रिया