काठमाडाैं, नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको आज शुक्रबार निधन भएको छ । टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको जानकारी दिएका हुन् । ३० वर्षीया सेलिशाको आज शुक्रबारै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ ।
सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्याण्डकाे पटायामा भएको एशियन टेबल टेनिस च्याम्पियनशीप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२ औँ दक्षिण एशियाली खेलकुद (साग) मा आफ्नाे खेल प्रदर्शन गरेकी थिइन् । उनले सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एशियाली जुनियर टेबल टेनिस च्याम्पियनशीपमा सेलिशाले नेपाललाई काँश्य पदकसमेत दिलाउन सफल भएकी थिइन् ।
अखिल नेपाल टेबल टेनिस संघले सेलिशाको स्वास्थ्य उपचारका लागि राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता पनि आयोजना गरेको थियो । सेलिशाको उपचारका लागि सहयोग जुटाउन टेबल टेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको थियो ।