काठमाडौं, २० अगस्ट २०२६ — युनिभर्सल पिस फेडेरेसन नेपाल (Universal Peace Federation Nepal) को आयोजना तथा निर्वाणा एकेडेमीको सहकार्यमा UN Humanitarian Day 2026 काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। “Celebrating Humanity, Inspiring Solidarity: Restoring Trust — What Can Be Done for Peace Now?” भन्ने मूल विषयवस्तुमा केन्द्रित कार्यक्रमले मानवता, ऐक्यबद्धता, करुणा, सहकार्य र शान्ति निर्माणको महत्वलाई उजागर गरेको थियो।
करिब दुई घण्टा सञ्चालन भएको कार्यक्रममा समाजसेवी, शिक्षाविद्, कलाकार, युवा, व्यवसायी, महिला नेतृत्व, पत्रकार, कानुन व्यवसायी तथा विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधिसहित १२७ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले शान्तिपूर्ण, समावेशी र सहकार्यमा आधारित समाज निर्माणका लागि मानवीय मूल्य र सामूहिक जिम्मेवारीलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको औपचारिक उद्घाटन प्रतिनिधिसभा सदस्य तथा पूर्व उपसभामुख माननीय इन्दिरा राना मगरले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै निर्वाणा एकेडेमीका प्रिन्सिपल निराजन अधिकारीले विशिष्ट अतिथि, वक्ता, सम्मानित व्यक्तित्व तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै माननीय इन्दिरा राना मगरले मानवता र एकता नै दीगो शान्तिका आधार भएको बताउनुभयो। मानव सेवाका क्रममा आफूले भोगेका चुनौतीपूर्ण अनुभवहरू स्मरण गर्दै उहाँले निःस्वार्थ सेवा र मानवीय संवेदनालाई जीवनको महत्वपूर्ण मूल्यका रूपमा आत्मसात् गरेको बताउनुभयो।
कार्यक्रमका प्रमुख वक्ता पूर्व कर्नेल रतिन्द्र क्षेत्रीले आफ्नो व्यावसायिक तथा सामाजिक जीवनका विभिन्न अनुभव प्रस्तुत गर्दै मानवहित र शान्तिका लागि गरिएका प्रयासबारे चर्चा गर्नुभयो। विशेषगरी कोभिड–१९ महामारीका समयमा मानवीय सेवाका क्षेत्रमा भएका योगदानलाई स्मरण गर्दै उहाँले मानवता, सहकार्य र सामूहिक जिम्मेवारी नै विपद् व्यवस्थापन तथा सामाजिक स्थायित्वका प्रभावकारी आधार भएको उल्लेख गर्नुभयो।
त्यसैगरी, युनिभर्सल पिस फेडेरेसन एसिया प्यासिफिकका उपाध्यक्ष सन्तोष कुमार पौडेलले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै युपिएफले विश्व शान्ति, मानवीय मूल्य, सहकार्य र सामाजिक एकताका लागि सञ्चालन गर्दै आएका विभिन्न गतिविधिबारे जानकारी गराउनुभयो।
विश्व शान्ति तथा एकीकृत परिवार संघ, दक्षिण एसियाका क्षेत्रीय निर्देशक श्री कृष्ण अधिकारीले पनि कार्यक्रमको महत्वबारे धारणा राख्दै शान्ति निर्माणका लागि समाजका विभिन्न तह र समुदायबीच सहकार्य तथा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा मानवता, शान्ति, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १० जना विशिष्ट व्यक्तित्वलाई “Ambassador for Peace Award” प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमध्ये निर्वाणा एकेडेमीका प्रिन्सिपल निराजन अधिकारी, लाइफ कम्प्युटर प्रा.लि.की प्रमुख कार्यकारी अधिकृत लक्ष्मी खत्री तथा सेन्ट जेभियर्स स्कुलका उप–प्रधानाध्यापक सुवर्ण राज केसी लगायत रहनुभएको थियो।
सम्मान ग्रहण गर्दै सुवर्ण राज केसीले प्राप्त सम्मानले शान्ति, मानवता र सामाजिक सेवाका क्षेत्रमा अझ सक्रिय भएर अघि बढ्न थप प्रेरणा मिलेको बताउनुभयो।
कार्यक्रममा निर्वाणा एकेडेमीका विद्यार्थीहरूले प्रस्तुत गरेको सांगीतिक कार्यक्रमले सहभागीहरूलाई थप उत्साहित बनाएको थियो। विद्यार्थीहरूको प्रस्तुतिले कार्यक्रमलाई सांस्कृतिक तथा प्रेरणादायी वातावरण प्रदान गरेको थियो।
यसै अवसरमा नेपालका अष्ट्रेलियाका लागि पूर्व राजदूत महेश राज दाहालले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै नेपालले मानवता, शान्ति र सहकार्यको सन्देशमार्फत अन्तर्राष्ट्रिय समुदायमा आफ्नो सकारात्मक पहिचान अझ सुदृढ गर्न सक्ने बताउनुभयो। उहाँले शान्ति, सुशासन र मानव सेवाका लागि सामूहिक रूपमा अघि बढ्न सकेमा यस्ता कार्यक्रमको उद्देश्य दीर्घकालीन रूपमा सार्थक हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन सत्रमा युनिभर्सल पिस फेडेरेसन दक्षिण एसियाका क्षेत्रीय निर्देशक प्रकाश बाबु थापाले समाजशास्त्रीय दृष्टिकोणबाट शान्ति र एकताको अवधारणामाथि आफ्नो धारणा प्रस्तुत गर्नुभयो। उहाँले शान्ति र एकता केवल नारामा सीमित विषय नभई करुणा, न्याय र सेवामा आधारित दैनिक व्यवहार र अभ्यास हुनुपर्ने बताउँदै यी मूल्यहरूलाई विद्यालय, समुदाय र राष्ट्रिय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
UN Humanitarian Day 2026 ले नेपालमा मानवता, ऐक्यबद्धता र शान्तिको सन्देशलाई थप सशक्त बनाउँदै विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ। १२७ जनाको सक्रिय सहभागिता रहेको कार्यक्रमले मानवीय सेवा, सामाजिक सहकार्य र शान्ति निर्माणप्रति साझा प्रतिबद्धता अभिव्यक्त गर्दै सकारात्मक ऊर्जा र प्रेरणाको सन्देश प्रवाह गरेको छ
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता