नुवाकोट – "एक्लाएक्लै लड्दा माओवादी हार्छ" भन्ने भनाइलाई नुवाकोटले पुनः गलत साबित गर्दै कांग्रेस र एमालेका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रले ककनी गाउँपालिका–२ मा विजय प्राप्त गरेको छ। माओवादी उम्मेदवार कृष्ण घिमिरे (मिलन) ले नेपाली कांग्रेसका उम्मेदवार सूर्य तामाङलाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।
यसपटक माओवादी उम्मेदवार घिमिरेले विगतको पराजयको बदला लिँदै झन्डै दोब्बर मतको फरकले विजयी भएका छन्। २०७९ को निर्वाचनमा घिमिरे कांग्रेसका तिलक लामासँग १ सय ५४ मतले हार्न पुगेका थिए, जबकि यसपटक उनले १ हजार ८५ मत प्राप्त गरे। त्यसका तुलनामा कांग्रेसका उम्मेदवार सूर्य तामाङले ५ सय ८७ मत मात्र प्राप्त गरेका छन्। यसरी, कांग्रेसले ३ सय १ मत गुमाएको र माओवादीले ती मतहरूलाई तानेको देखिन्छ।
निर्वाचन नतिजाअनुसार, नेकपा (एमाले) का उम्मेदवार यमबहादुर लामाले ३ सय ६६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। रास्वपाका मंगलसिद्धी तामाङले ८३, राप्रपाका खेमबहादुर थापाले २८ र समाजवादीका मानबहादुर लामाले २३ मत प्राप्त गरे।
यस वडाको अध्यक्ष पदका लागि ११ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। कांग्रेसका वरिष्ठ नेता प्रकाशशरण महत र अर्जुननरसिंह केसी ककनी पुगेर उम्मेदवारलाई जिताउनका लागि कार्यक्रम आयोजना गरे पनि चुनावी प्रचार कमजोर रह्यो। पार्टीको संगठनात्मक असमझदारी र प्रचारका कमजोरीका कारण कांग्रेसले जितेको क्षेत्र गुमाएको बताइएको छ।
त्यसैगरी, माओवादी केन्द्रले रणनीतिक प्रचारशैली, राजनैतिक र सांगठनिक एकता र उत्साहजनक चुनावी अभियानमार्फत ककनीमा उल्लेख्य मत प्राप्त गरेको छ। यस विजयसँगै माओवादीले नुवाकोटमा कुनै पनि चुनाव एक्लै लड्न सक्ने सन्देश दिएको छ।