कमाएर राजनीति आउनु अपराध होइन ।

कमाएर राजनीतिमा अपराध होइन । 

समाजले राजनीति र अर्थ कमाउने प्रक्रियालाई प्रायः एउटै तराजुमा जोख्ने गल्ती गर्दै आएको छ । तर सत्य के हो भने, इमानदारीपूर्वक कमाएको सम्पत्तिसहित राजनीतिमा प्रवेश गर्नु अपराध होइन, बरु त्यो अनुभव, आत्मनिर्भरता र आत्मविश्वासको सूचक हो । तर जब राजनीति नै कमाउने माध्यम बन्छ, त्यहाँबाट सुरु हुन्छ भ्रष्टाचार, बेइमानी र जनविश्वासको हत्या ।

राजनीति सेवा हो, व्यापार होइन । जनताको विश्वासको मत लिएर सत्तामा पुग्नेहरू यदि आफ्नै खल्ती भर्ने योजना बनाउन थाल्छन भने त्यो केवल नैतिक पतन मात्र होइन, लोकतन्त्रप्रतिको घोर अपमान पनि हो । कमाउन राजनीति गर्नु महाअपराध हो यो आजको विकृत राजनीतिक संस्कृतिमाथि प्रहार हो ।

आज कतिपय नेताहरू राजनीतिलाई ‘लगानी’ जस्तो व्यवहार गर्छन । निर्वाचनमा खर्च गर्छन । अनि सत्तामा पुगेपछि त्यो रकम ‘असुल’ गर्ने प्रयास गर्छन । यस्तो सोचले राजनीति सेवाबाट हटेर सौदाबाजीमा रूपान्तरण भएको छ । परिणामस्वरूप, नीतिहरू जनताका लागि होइन, आफ्नो स्वार्थ पूरा गर्न बनाइन्छन । विकासका नाममा कमिसन, नियुक्तिका नाममा दलाली र अधिकारका नाममा दुरुपयोग यी सबै “कमाउन राजनीति” को प्रत्यक्ष उदाहरण हुन् ।

यहाँ यस्ता पात्रहरू आफूलाई “जनसेवक” भन्न रुचाउँछन, विकासप्रेमी भन्दा समाजमा विद्यमान कमजोरी फाइदा लिइ अकुट कमाउनतिर लागेका छन । तर सेवकको आवरणभित्र स्वार्थको साम्राज्य चलाउनेहरू वास्तवमा जनताको होइन, आफ्नै लोभका बन्दी हुन् । उनीहरूका लागि जनता केवल चुनावको समयको भीड हो, न कि जिम्मेवारी ।

अर्कोतर्फ, जो व्यक्ति आफ्नै श्रम र पेशाबाट आत्मनिर्भर बनेर राजनीतिमा आउँछन, उनीहरूलाई कमाउने लोभले होइन, केही गर्ने उद्देश्यले प्रेरित गरेको हुन्छन । उनीहरू नीतिमा स्पष्ट, निर्णयमा स्वतन्त्र र जनताप्रति उत्तरदायी हुन्छन । यस्तो पृष्ठभूमि भएका नेतृत्वले मात्र स्वच्छ राजनीति सम्भव बनाउँछन ।

अन्तमा, समाजले पनि बुझ्न आवश्यक छ कि सम्पत्ति कमाएको आधारमा कसैलाई दोषी ठहर गर्नु होइन तर सम्पत्तिका लागि राजनीति गर्ने प्रवृत्तिलाई अस्वीकार गर्नु हो । राजनीति कमाउने भाँडो होइन, समाज बदल्ने साधन हो । त्यसैले, कमाएर राजनीतिमा आउनु सम्मानको कुरा हो, तर राजनीति गरेर कमाउनु त्यो त राष्ट्रप्रतिको महाअपराध नै हो । र हामी मानिस त्यस्ता अपराधको पछि लाग्न छोडी राजनीति जनता लुट्न नै हो भन्ने विचार सिद्धान्तलाई हावा दिन लागी परेका छौं । कोहि नेता जसको कुनै राजनीति बाहेक अन्य पेशा छैन तिनीहरूले कमाएको पैसा बारे चिन्ता छैन । देश खोक्रो बनाएको सन्दर्भमा विचार विमर्श छैन तर आज मन्त्री लगायत प्रधानमन्त्रीको सम्पत्ति सार्वजनिक हुँदा चिन्ता र दुखेसो पोख्नमा व्यस्त छन । सुन महँगो भएको कुरा गर्दैछन । बहालवालाहरुको सम्पत्ति विवरणले भ्रष्टाचार फस्टाउदैनन् भन्ने विचार खासै देखिन्न । विगतमा नेताहरूसँग कहाँबाट पैसा आयो सम्पत्ति जोडे भन्ने कतै कुनै प्रश्न छैन । चप्पल लगाएर काठमाडौ छिर्ने नेताहरूको सम्पत्ति कहाँबाट आए सोधखोज छैन उल्टो आरोप छ यसले देश चिन्ता होइन इर्ष्याको खेल मात्र रच्नेछ । सकिन्छ भने आफ्ना नेताहरूको काम सहित सम्पत्ति विवरण सार्वजनिक गर्न लगाउनेतिर लाग्ने योजना बनाउँदा देशको हित हुनेछ । 

प्रतिक्रिया