देशको लागि आफ्नो ढिपी त्याग्नुपर्छ ।
मबाट नै देश बन्नुपर्छ भन्ने सोच कहिल्यै राखिनँ मैले । किनभने देश कुनै एक व्यक्तिको स्वार्थ, महत्वाकांक्षा वा अहंकारको उपज होइन । यो त हामी सबैको साझा अस्तित्व हो । तर जब मेरो कर्म, मेरो विचार, मेरो नैतिकता र मेरो जिम्मेवारीले समाजलाई स्पर्श गर्छ, त्यतिबेला मबाट बनेको सानो योगदान नै देश बनेको महसुस हुन्छ ।
मेरो ‘म’ भित्र केवल म मात्र छैन, त्यसमा तिमी पनि छौ, हामी पनि छौं, र सिंगो समाजको प्रतिबिम्ब पनि छ । यही भावनालाई बुझ्न सकियो भने देश कहिल्यै व्यक्तिगत स्वार्थको साधन बन्न सक्दैन । देशलाई उपयोग गर्ने होइन, देशलाई निर्माण गर्ने जिम्मेवारी हाम्रो काँधमा छ भन्ने चेतना जगाउनुपर्छ ।
देशप्रति प्रेम भनेको ठूलो भाषण दिनु मात्र होइन, त्यो त सानो व्यवहारमा देखिने सत्य हो । जब म आफ्नो कर्तव्य इमान्दारीका साथ पूरा गर्छु, जब म अरूलाई पनि राम्रो बन्न प्रेरित गर्छु, तब म देशभक्त बन्छु । “म राम्रो हुँ” भन्नु मात्र पर्याप्त हुँदैन, त्यो प्रमाणित गर्न मैले तिमीलाई पनि राम्रो बनाउने प्रयास गर्नुपर्छ । यही नै मेरो दायित्व हो, यही नै मेरो नैतिक जिम्मेवारी हो ।
अहंकारले मानिसलाई एक्लो बनाउँछ तर गर्वले मानिसलाई उचाइमा पुर्याउँछ । ममा अहम् होइन, देशप्रति गर्व हुनुपर्छ, त्यो गर्व जसले मलाई अझ जिम्मेवार बनाओस्, अझ इमान्दार बनाओस् । देशप्रतिको गर्वले मलाई गलत बाटोमा जानबाट रोक्छ, र सही मार्गमा अडिग रहन प्रेरित गर्छ ।
नैतिकता भनेको सजिलो अवस्थामा मात्र पालना गर्ने कुरा होइन । यो त कठिन परिस्थिति, लोभ, डर र दबाबका बीच पनि नटुट्ने दृढता हो । मैले मेरो नैतिकता कुनै पनि हालतमा बन्धकी राख्नु हुँदैन, किनभने नैतिकता हराएपछि देशप्रतिको मेरो प्रेम पनि खोक्रो हुन्छ ।
देशभक्ति भनेको झण्डा फहराउनु मात्र होइन, त्यो त मनभित्र बसीरहने इमान्दारी, जिम्मेवारी र त्यागको भावना हो । जब म सानो काममा पनि सत्य र न्यायको पक्ष लिन्छु, तब म साँचो देशभक्त बन्छु ।
अन्तमा, देश मबाट बन्नुपर्छ भन्ने होइन तर मबाट बिग्रनु पनि हुँदैन । यदि मेरो प्रत्येक कदम सही दिशामा अघि बढ्छ भने, त्यही स-साना पाइला मिलेर देशको भविष्य निर्माण हुन्छ । देश मेरो होइन, म देशको हुँ र यही चेतनाले मलाई सधैं सही मार्गमा डोर्याइरहोस् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर