काठमाडौं, मंसिर १९ – लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आज काठमाडौं महानगरपालिका-३१ अन्तर्गत बृहत् सचेतनामूलक प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम सामुदायिक विकास तथा सेवा समितिका उपाध्यक्ष उज्जन श्रेष्ठको अध्यक्षतामा, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रभातफेरी नेपाल कमर्श क्याम्पसबाट सुरु भई बागमती अपार्टमेन्ट हुँदै अनमोल क्याटरिङसम्म पुगेको थियो। प्रभातफेरीपछि आयोजित औपचारिक कार्यक्रममा नेरीक एकेडेमी स्कुलका विद्यार्थीहरूले लैंगिक हिंसाविरुद्ध सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए।
कार्यक्रममा कामपा-३१ का वडाध्यक्ष सरोज ढकाल, प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक बिरेन्द्र गोदार, वडा जनप्रतिनिधिहरू, टोल सुधार समिति, क्लव, महिला समूह, आमा समूह, व्यवसायी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थीहरू, र स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
सचेतनामूलक कार्यक्रमले लैंगिक हिंसाका विषयमा जनचेतना फैलाउने उद्देश्य लिएको आयोजकहरूले बताएका छन्। यसले हिंसाविरुद्ध एकजुट भएर अघि बढ्न समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।
(प्रस्तुति: आमादर्शन न्यूज)