खेलमार्फत विद्यार्थीहरूमा अनुशासन र समूहगत कार्य सिपको विकास

काठमाडौँ, कार्तिक २, २०८० – काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरूमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूको शैक्षिक नतिजा सुधारका लागि दशैँ-तिहारको विदामा खेलकुदसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरेको छ। यस क्रममा विद्यार्थीहरूले खेलकुदमार्फत ‘अनुशासन’, ‘समूहगत कार्य’, र ‘तनाव व्यवस्थापन’ जस्ता जीवनोपयोगी सिपहरू सिक्न पाएका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका चर्चित प्रशिक्षक र खेलाडीहरूको प्रत्यक्ष मार्गदर्शनमा विद्यार्थीहरूले खेल र शिक्षाबीचको सम्बन्ध, खेलकुदका महत्त्वपूर्ण फाइदाहरू, र खेल जीवनशैलीको सकारात्मक प्रभावबारे बुझ्ने अवसर प्राप्त गरेका छन्।

विद्यार्थीहरूमा आत्मविश्वासको वृद्धि

कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले यस कार्यक्रमलाई अत्यन्तै उत्साहजनक अनुभव गर्दै भविष्यमा खेलकुदमा केही गर्न सक्ने आत्मविश्वासको विकास भएको बताएका छन्। एक विद्यार्थीले भने, “खेलकुदमार्फत हाम्रो आत्मविश्वास बढ्न थालेको छ, र कक्षा ११ र १२ मा अझ राम्रोसँग अभ्यास गर्ने योजना छ।”

प्रशिक्षकहरूको सहयोग र खेलकुदको महत्त्व

टेलिभिजन र पत्रपत्रिकामा हेरेका तथा पढेका खेलकुदका राष्ट्रिय व्यक्तित्वहरूलाई प्रत्यक्ष भेटेर प्रशिक्षण लिन पाउनु विद्यार्थीहरूका लागि प्रेरणादायी बनेको छ। खेलकुदले विद्यार्थीहरूलाई न केवल शारीरिक रूपमा सशक्त बनाउने काम गरेको छ, तर मानसिक स्वास्थ्य, अनुशासन, र दबाब व्यवस्थापनमा समेत सहयोग पुर्याएको छ।

काठमाडौँ महानगरपालिकाले खेलकुदजस्ता कार्यक्रमहरू सञ्चालन गरी विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ।

Aama Darshan News

प्रतिक्रिया