काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो मा टक्कर देखिएको छ । सुरुमा ‘१२ गाउँ’को भन्दा धेरै शो ‘छक्का पञ्जा’ले पाएको छ ।
देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा छैटौँ दिनमा आइपुग्दा ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो बराबरी छ । सुरुमा शो बाँडफाँट गर्दा क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा ‘छक्का पञ्जा–५’लाई ३८ शो दिएको थियो । ‘१२ गाउँ’ले २२ शो पाएको थियो । त्यसयता विस्तारै ‘१२ गाउँ’ले शो बढाउँदै गएर छैटौँ दिनमा आइपुग्दा काठमाडौं उपत्यकाको क्यूएफएक्स चेनमा ‘छक्का पञ्जा–५’ जति नै पुर्याएको हो ।
आज काठमाडौं उपत्यकामा क्यूएफएक्सले यी दुवै चलचित्रलाई बिहान साढे ८ बजेपछि समान २५/२५ शो दिएको छ । सिंगल थिएटरमा भने सुरुदेखि नै ‘१२ गाउँ’मा बढी क्रेज रहेको वितरक गोविन्द शाहीले बताएका छन् ।
अन्य मल्टिप्लेक्समा केहीमा ‘छक्का पञ्जा–५’को शो धेरै छ भने केहीमा ‘१२ गाउँ’को शो बढी छ ।
‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । यसमा बिराज र समीर भट्ट मुख्य भूमिकामा छन् ।
‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।
यी दुईवटै चलचित्र अधिकांश शो हाउसफुल अकुपेन्सीमा चलिरहेका छन् ।