२० दिन हिँडेर आएकाहरूलाई भेट्न सरकारका कोही गएनन्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चुरे संरक्षणका लागि काठमाडौं आएकाहरूलाई भेट्न सरकारका कोही पनि प्रतिनिधि नपुगेको बताएका छन्।

सप्तरीबाट ५७ दिनअघि २० दिन हिँडेर काठमाडौं आएका उनीहरू माइतीघर मण्डलमा ३२ दिनदेखि धर्नामा रहेको पौडे‍लको भनाइ छ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘३२ दिनदेखि सिंहदरबारनजिकै माइतीघरमा उहाँहरू धर्नामा हुनुहुन्छ, चुरे संरक्षणको आवाज सिंहदरबार छिराउन सकिन्छ कि भनेर पर्खेर बस्नुभएको छ। उहाँहरूलाई भेट्न म गएको थिएँ, आजसम्म सरकारका कोही प्रतिनिधि भेट्न गएको छैन।’

उनीहरूले व्यक्तिगत नभई ५१ प्रतिशत जनतासँग जोडिएको विषय उठान गरेकोले सरकारले नै गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए।

‘चुरे संरक्षण समिति ९ वर्षअघि गठन भयो, अहिलेसम्म १५ अरब पैसा खर्च भएको छ तर चुरे संरक्षण हुन सकेन,’ उनले भने, ‘चुरे संरक्षण दिवसमा प्रधानमन्त्री सिराहा जानुभएको रहेछ। गमलामा विरूवा रोपेर चुरे संरक्षण हुँदैन, एकै दिनमा हजारौं विरूवा इलामदेखि कञ्चनपुरसम्म रोप्ने अभियान गर्नुपर्छ।’

पौडेलले चुरे अतिक्रमणमा परेको र टुलुटुलु हेरेर बस्न नहुने पनि बताएका छन्।

प्रतिक्रिया