अमेरिकाको टेक्सासमा भीषण बाढी: २४ जनाको मृत्यु, धेरै बेपत्ता

अमेरिकाको टेक्सास राज्यमा शुक्रबार भीषण वर्षापछि आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बिबिसीका अनुसार अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ भने अझै पनि कम्तीमा २५ जना बेपत्ता छन्। अधिकारीहरूले उद्धार कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।


टेक्सासको केर काउन्टी क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ। गभर्नर ग्रेग अब्बटले बाढीपछि राज्यभरि आपतकाल घोषणा गर्दै उद्धार र राहत कार्य तिव्र पार्न निर्देशन दिएका छन्। बेपत्ताहरूको खोजीका लागि हेलिकप्टर र ड्रोन प्रयोग गरिएका छन् भने रातिको समयमा पनि उद्धार कार्य जारी राखिएको छ।


बाढीग्रस्त क्षेत्रमा रहेका विद्यालयहरूले गर्मी यामका लागि सञ्चालन गरेको क्याम्प मिस्टिकमा करिब ७०० छात्रा सहभागी थिए। बाढीपछि २३७ जनाको सफल उद्धार गरिएको बताइएको छ। सो क्षेत्रमा बग्ने ग्वाडलुप नदीको जलसतह ७.९ मिटर पुगेपछि आसपासको क्षेत्र डुबानमा परेको थियो।


अधिकारीहरूले अझै सतर्क रहन स्थानीय बासिन्दालाई आग्रह गरेका छन्। टेक्सासमा पछिल्लो समय चरम मौसमका कारण प्राकृतिक प्रकोपको जोखिम बढेको देखिएको छ

प्रतिक्रिया