एक्काईसौं शताब्दीमा नयाँ पुस्ताको राजनीति : मुद्धा VS व्यक्ति

 एक्काईसौं शताब्दी ज्ञानी विद्वानहरु यत्रतत्र सर्वत्र भेटिने युग हो । शिक्षामा सबै देशहरुको लगानी ,  प्रविधिको विकासले विषेशत सुचनामा सहज पहुँच ,  संसारभर भौगोलिक राजनितिक संयन्त्र ,  

एच बी खत्री : लेखक

विश्वव्यापीकरणको बेसिक अभ्यास ,  मानिस र भुगोलमाथी पुर्णत राजनितिको नियन्त्रण जस्ता कुराहरुले यो युगका मानिसहरुलाई कानुन , अधिकार ,  चेतनाको उच्च स्तर , शैक्षिक ज्ञान सहजै उपलब्ध भएकाले र धेरै देश मानिसको लगानी यहि क्षेत्रमा भएकोले हरेक मानिस सचेतनाको अहिलेसम्मकै उच्चतम विन्दुमा रहेको आभास हुन्छ । यो समयमा मानिसमा भएको प्रविधी र विज्ञानको सदुपयोगले मानिसले व्रह्माण्डमाथी नै शासन गर्ने सम्भवना बलियो बन्दै गएको देखिन्छ । 

  

 एकातिर विज्ञान र प्रविधिमा नयाँ नयाँ आविस्कार गरेर पृथ्वीभन्दा बाहिर समेत आफ्नो अस्तित्व प्रष्ट पार्न सफल भएका मानवजाती राजनिति र धर्मको क्षेत्रमा भने अझै ढुङ्गे युगतिरै भएको भान हुन्छ । समृद्ध देशहरुको राजनितिमा पहिलो प्राथमिकता त्यहाँका नागरिकको सेवा सुरक्षा र देशको आर्थिक भौतिक प्रगति हुने गरेको भएता पनि अविकसित र अल्पविकसित देशहरुमा भने राजनीति अझै मुद्धा कि व्यक्ति भन्ने बहसमै अल्मलिएको देख्न सकिन्छ । 


 त्यसको ज्वलन्त उदाहरण नेपाल बनेको छ । अन्य देशहरु औद्योगिक क्रान्ती भन्दा माथी उठेर एआईको उपभोगमा लाग्दै गर्दा नेपाल भने अझै कृषीयुगमै अल्मलिएको छ त्यो पनि लगभग ९०% पारम्परिक कृषी गर्नेहरु छन । त्यो भन्दा डरलाग्दो तथ्य त नेपालबाट श्रम गर्नकै लागी वर्षेनी लाखौँको संख्यामा युवा जनशक्ति विदेश पलायन भैरहेका छन । युवा विदेश पलायन भएको भन्दा पनि राजनितिक दलहरुको साठगाँठमै उनिहरुलाई बेचिएको भन्दा अन्यथा नहोला । लगभग गाउँहरु युवाबिहिन भैसकेका छन भने सहर विदेश जान लाइन लागेका युवाले थोरै चलायमान छ । गास वास कपास विदेशको उत्पादन या आम्दानीमा निहित भएको जटिल अवस्था छ । 

 

यस्तो विषम परिस्थितिमा 2082 सालमा नयाँ पुस्ताले देशमै गरिखान पाउँ भन्दै गरेको दुइ दिने ऐतिहासिक जेन जी विद्रोहको आगो दन्कियो । देश जल्यो सरकार ढल्यो । दर्जनौ सहिद बने आन्दोलनले देश सेनाको हातमा पुग्यो । तत्कालिन सेनाप्रमुखले चाहेको भए केहि समय देश सेनाले चलाउने अवस्था थियो तर हतारहतार अन्तरिम सरकार बन्यो। 

 एकातिर सानो र सुस्त अर्थतन्त्र ,  अर्कोतिर पट्यारलाग्दो सरकारी सेवा अनि लगभग उत्पादन शुन्य देशमा आफ्नै देशमा केहि गरौँ भनेर गरिएको आन्दोलनको सफलताको जड भने तत्कालिन सरकारले गरेको दुई गल्ति बन्न पुगेको थियो एक भ्रष्टाचारमा सरकार मौन रहनु अझ भनौं  सरकार नै भ्रष्टाचार गर्न बनेको आभास हुनु र अर्को सामाजिक माथी लगाईएको आकस्मिक बन्देज । 

 आन्दोलनले सरकार ढल्यो ,  आन्दोलनकारीको मागबमोजिम अन्तरिम सरकार बन्यो संसद विघटन भयो । अन्तरिम सरकारले चुनाव गराएर जननिर्वाचित प्रतिनिधिसभालाई देशको बागडोर सुम्पने जिम्मा पहिलो ठानेर देश त्यतै तिर बढ्यो। नेपाली पात्रोअनुसार एक्काइसौँ शताब्दी सकिन अब दुई दशक पनि बाँकी छैन । यो शताब्दी पुरै राजनितिक परिवर्तन र सरकार परिवर्तनमा बित्यो भनेर इतिहासमा लेख्दा नेपाली जस्ता अस्थिर मानिस कोहि छैन भनेर भाष्य बन्ने पक्का छ । पुरै एक शताब्दी राजनीतिमा परिवर्तन खोजेर बित्दा पनि नेपालीको घैटोमा घाम भने लागेन अझै नेपाली मुद्धा हैन व्यक्तिको पछि दौडिरहेका छन । यो मान्छे आए देश बन्छ भन्ने मुर्ख बुद्धी बोकेका नेपालीलाई देश समृद्ध बनाउन र सुशासन ल्याउन व्यक्ति हैन प्रणाली महत्वपुर्ण हो भनेर सम्झाउन बुझाउन इन्द्रेको चन्द्रे आए पनि नसक्ने देखिईसकेको छ । 

 

 अब हुने निर्वाचनमा पुराना नेता र नयाँ नेताको भिडन्त हुने पक्कापक्की देखिइसकेको छ । अचम्म त यो छ कि यी समुह देश बनाउने स्पष्ट भिजन मुद्धा बोकेर हैन पपुलर अनुहार ,  सेलिब्रेटी बोकेर चुनावमा होमिदै छन । देशको अवस्था बिग्रीएको व्यवस्थाले हो भन्ने समेत ज्ञात नभएको नयाँ पुस्ताको आन्दोलन र आन्दोलनपछिको अन्तरिम सरकार हेर्दा पनि स्पष्ट हुन्छ नेपालको राजनीति अझै बाकिँ दुई दशक मुद्धा हैन व्यक्ति केन्दृत हुने सम्भावना छ । 


 यस्तो बेला बुद्धीजिवी वर्ग बरु आफ्नो ज्ञान लुकाएर मुर्खहरुको गाली खान तयार नभएको कुरा उनिहरुको मौनताले स्पष्ट पार्छ । पारम्परिक राजनीति गर्नेहरुको सिकोबाट निस्किएका भुइफुट्टा नयाँ नेताहरुले सामाजिक सन्जालको भरपुर उपभोग गरेको देखिन्छ जसले गर्दा हातहातमा फोन बोकेर सामाजिक सन्जाल चलाउने नयाँ पुस्ता स्टारडमको छायाँमा अल्मलिने पक्का हो । 


नयाँ पुस्ताको नेतृत्व गर्छु भनेर आउने नयाँ नेताहरुमा देश र जनताप्रति जिम्मेवारीबोध कम हुनु ,  युवामा देश नेताले बनाउँछन आफुले केहि गर्नु पर्दैन भन्ने सोच पलाउनु , आन्दोलन विद्रोहको नाममा माओवादी युद्धको झल्को दिने देश र जनतालाई हानी गर्ने गतिबिधी गरिनु , हुर्कदै गरेका नेताहरुले मौकामा चौका हान्ने गतिबिधी गर्नु ,  देशको  विशाल भुगोल विकास हुन नसक्नु ,  प्रशासन, राज्यका तिनै अङ्गमा जनताको भरोसा नहुनु ,  चौथो अङ्ग प्रेस इमान्दार नहुनु ,  नयाँहरुले आफुलाई सुधार्न खोज्ने मिडियालाई आफ्नो समुह लगाएर सन्जाल मार्फत र अझ भौतिक रुपमा समेत आक्रमण गर्नाले अब आउने नेतृत्व पनि जतिसुकै योग्य भएपनि ढिलाचाडो घृणित हुने पक्कापक्की जस्तै देखिन्छ । 


 यस्तो अवस्थामा नयाँ पुस्ताको अबको राजनितिक दिशा व्यक्तिभन्दा मुद्धा केन्द्रीत गर्न सकेको खण्डमा जनताले व्यक्तिबाट धेरै आशा नगर्ने तर मुद्धा अर्थात अजेण्डा हाशिल गर्न तत्पर रहने हुनाले मुद्धाकेन्द्रीत राजनितिले देश , जनता र नेता सबैको भलाई हुने देखिन्छ नत्र छिट्टै भविष्यमा अरुको घर जलाएर देश जलाएर केहि गर्न नसकेको आरोपमा नया पुस्ताका नेताहरु सडकमा लघारिए जलाईए अनौठो हुने छैन । नयाँ उदाउँदै गरेका नेताहरुले पदको र पावरको लोभमा भन्दा देश बनाउने जोशमा उर्जाले भरिएका र सुमधुर भविष्य बनाउने मुद्धा बोकेर उभिँदा भोलीको देश अवश्य सुन्दर हुनेछ । आख्यानकार आफै युवा नेतृत्वलाई उत्प्रेरणा दिने काममा सकृय रहेको हुनाले नयाँ पुस्ताका आधाभन्दा बढि नेता बन्न लालायित युवाहरु क्यामेराको फ्रेमबाहिर र फ्रेमभित्र को कस्तो छन थाहा भएकोले उनिहरु अहिल्यै सुध्रीएर अगाडि बढे मात्र देश सुध्रीने कुरामा यकिन हुन सकिन्छ नत्र फेरि अर्को अन्दोलन अनि फेरि अर्को आन्दोलन ,  देश बनाउने कहिले ?  राजनीतिभन्दा माथी उठेर अर्थतन्त्र सुधार ,  निर्माण ,  उत्पादन ध्यान दिएर कृषक र श्रमिक वर्गलाई सम्बोधन गर्नु जरुरी छ । देश बनाउन तव सम्भव छ जब श्रमिक वर्ग खुसी खुसी देशमा श्रम गर्नेछन ।

प्रतिक्रिया