मलङ्गवामा इन्जिनियर प्रमोदकुमार यादवको गोली प्रहारबाट हत्या, अनुसन्धान सुरु

काठमाडौं, फागुन ४ — मलङ्गवामा आइतबार बेलुका गोली प्रहार गरी एक इन्जिनियरको हत्या गरिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।


जिल्ला पूर्वाधार कार्यालय, मलङ्गवामा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवलाई आइतबार बेलुका करिब ८ बजे मलङ्गवा नगरपालिका–१० स्थित आफ्नै डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। छातीमा गोली लागेका यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


मृतक यादवको स्थायी घर सुखीपुर नगरपालिका–६, वैशाखा रहेको छ। प्रहरीका अनुसार उनी आइतबार दिउँसो मात्र बुबाको निधनपछि सम्पन्न काजकिरिया सकेर मलङ्गवा फर्किएका थिए। “उहाँ दिउँसो करिब २–३ बजेतिर मलङ्गवा फर्किनुभएको भन्ने बुझिएको छ। घर फर्किए लगत्तै घटना भएको देखिन्छ,” जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।


स्थानीयका अनुसार मोटरसाइकलमा आएका दुई जना व्यक्तिले यादवलाई कोठाबाहिर बोलाएर नजिकबाट गोली प्रहार गरेका थिए। घटनाको कारण खुल्न सकेको छैन।


यादव श्रीमती र दुई वर्षीया छोरीसँग कार्यालय नजिकै डेरा गरी बस्दै आएका थिए। मलङ्गवा नेपाल–भारत सीमा नजिकै रहेकाले घटनामा संलग्न व्यक्ति सीमापार फरार भएको हुन सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ।


प्रहरीले घटनास्थल आसपासका सिसिटिभी फुटेज सङ्कलन गरी अनुसन्धान तीव्र बनाएको छ।

प्रतिक्रिया