काठमाडौं । होर्मुज जलमार्ग नजिकै दक्षिणतर्फ गइरहेको एक तेल ट्यांकरमाथि अज्ञात वस्तु वा सम्भावित क्षेप्यास्त्र प्रहार भएको छ। बेलायती जलसेनाअन्तर्गतको समुद्री सुरक्षा निकाय यूके म्यारिटाइम ट्रेड अपरेसन्स (UKMTO) ले मंगलबार बिहान घटनाको पुष्टि गरेको हो।
यूकेएमटीओका अनुसार प्रहारपछि ट्यांकरको देब्रे भागमा आगलागी भएको थियो। यद्यपि, जहाजमा सवार सबै चालकदल सुरक्षित रहेका छन् र घटनामा कुनै मानवीय क्षति भएको छैन। साथै, समुद्रमा तेल चुहावट वा अन्य वातावरणीय क्षति भएको जानकारी पनि हालसम्म प्राप्त नभएको जनाइएको छ।
ओमानको लिमाह क्षेत्रको पूर्वतर्फ भएको उक्त घटनाबारे सम्बन्धित समुद्री सुरक्षा निकायहरूले अनुसन्धान अघि बढाइरहेका छन्। प्रारम्भिक रूपमा आक्रमणको जिम्मेवारी कसैले नलिएको भए पनि यसलाई अमेरिका–इरानबीच बढ्दो क्षेत्रीय तनावसँग जोडेर हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
होर्मुज जलमार्ग विश्वकै सबैभन्दा महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक हो। विश्वभर समुद्री मार्गबाट हुने कच्चा तेल निर्यातको करिब २० प्रतिशत यही जलमार्ग हुँदै हुने भएकाले यहाँ हुने कुनै पनि सुरक्षा घटनाले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ।
– आमा दर्शन न्युज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता