आज देशभर साधारणतया बदली, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


काठमाडौं, – देशभर आज (आइतबार) साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आकाशको करिब ५१ देखि ७५ प्रतिशत भागमा बादल छाउने स्थिति रहने अनुमान गरिएको हो।


महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ भने अरबसागरबाट जलवाष्पयुक्त हावाको प्रवाह बढेको छ। यसले गर्दा विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ।


दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने अनुमान छ। अन्य प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा समेत वर्षा हुने सम्भावना छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।


राति पनि देशभर साधारणतया बदली रहनेछ। कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र गण्डकी तथा सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।


काठमाडौंसहित देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। गएराति पनि विभिन्न स्थानमा पानी परेको विभागले जनाएको छ।

प्रतिक्रिया