नियन्त्रित क्षेत्र उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटक बढे

जोमसोम—अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत रहेको निषेधित तथा नियन्त्रित क्षेत्र उपल्लो मुस्ताङ घुम्ने पर्यटकको संख्या बढेको पाईएको छ । विगतका वर्षहरुमा औसत १ हजार पनि पर्यटक नपुग्ने उपल्लो मुस्ताङमा चालु वर्षको जनवरी देखि नोभेम्बर १८ तारिखसम्मको तथ्यांक हेर्दा विदेशी पर्यटकको सख्या अकल्पनीय रुपमा बढेको हो ।

अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीका अनुसार २०२३ को जनवरीदेखि डिसेम्बर आधासम्ममा कुल ३हजार ३८८ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको जानकारी दिए । जसमध्ये केही सार्क राष्ट्रका विदेशी पर्यटक छन् भने बाँकी सबै तेश्रो मुलुकका पर्यटक छन् । यसवर्ष करिव ३८ राष्ट्रका विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीको भनाई छ ।

एक्याप जोमसोमका अनुसार सन् २०२३ को अक्टोबरमा सबैभन्दा बढी  ८१० जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरे । सबै भन्दा कम जनवरीमा जम्मा ७ जना मात्रै विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका हुन् । यसैगरी फ्रेब्रअरीमा २३ ,मार्च १६२,अप्रिलमा ४२५ ,मे  ७१२,जुन १४९,जुलाई १०८ ,अगस्ट २७८ ,सेप्टेम्बरमा ४०७ र नोभेम्बर १८ तारिखमा २०७ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन् ।

उपल्लो मुस्ताङमा विशेषगरी तिजी पर्व र यार्तुङ पर्वको छेको पारेर अक्सर विदेशी पर्यटक उपल्लो मुस्ताङ जाने गरेको पाईएको छ । यसरी उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ गाउँपालिका—२ को छोसेर स्थित नेचुङबाट माथि जान पाउँदैनन् । तर,आन्तरिक पर्यटकलाई भने कोरलानाका सम्म जान कुनै रोकतोक हुँदैन ।

सन् २०२३ को जनवरीदेखि नोभेम्बर १८ सम्मको उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको तथ्यांक अनुसार २२ करोड ३६ लाख ८ हजार राजश्व संकलन भएको देखिन्छ । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले प्रवेश शुल्क वापत ५ सय अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने हुन्छ । यो शुल्क तिरेरपछि उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले १० दिनको प्रवेश अनुमती पाउँछन् । उपल्लो मुस्ताङ घुमेको १० दिन कटेपछि प्रतिदिन थप ५० डलरका दरले सरकारलाई रोयल्टी बुझाउनु पर्ने हुन्छ । 


या समाचार कन्टेन कपि गर्न सख्त मनाई छ ।



प्रतिक्रिया