कास्कीमा सरकारी कर्मचारीलाई निर्वाचन लक्षित सामाजिक सञ्जाल गतिविधिमा प्रतिबन्ध


काठमाडौँ, माघ ९ — कास्की जिल्लामा निर्वाचन अवधिभर सरकारी कर्मचारीलाई निर्वाचन लक्षित सामाजिक सञ्जाल गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ। निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि प्रकारका पोस्ट सेयर गर्नुका साथै लाइक र कमेन्ट गर्नसमेत नपाउने व्यवस्था गरिएको हो।


प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बिहीबार बसेको कास्की जिल्लाका कार्यालय प्रमुखहरूको बैठकले उक्त निर्णय गरेको हो। बैठकले सबै सरकारी कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन निर्देशन दिएको छ।


सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार निर्वाचन आचारसंहिता २०८२ ले सरकारी कर्मचारीलाई कुनै पनि माध्यमबाट निर्वाचनको प्रचार–प्रसारमा संलग्न हुन स्पष्ट रूपमा निषेध गरेको छ। निजामती सेवा ऐनले समेत सरकारी कर्मचारीलाई राजनीतिमा सहभागी हुन नपाइने व्यवस्था गरेको उल्लेख गर्दै, सोही प्रावधानअनुसार सामाजिक सञ्जालमा निर्वाचन लक्षित पोस्ट सेयर, लाइक तथा कमेन्ट गर्न प्रतिबन्ध लगाइएको उनले बताए।




प्रतिक्रिया