आजदेखि निर्वाचन प्रहरी फिल्डमा, एक लाख ४९ हजार म्यादी प्रहरी परिचालन

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिने भएका छन् । भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै सुरक्षा जिम्मेवारीमा खटिन लागेका हुन् ।

नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० तथा सशस्त्र प्रहरी बलले १५ हजार १ सय १० निर्वाचन प्रहरीलाई गएको माघ १८ गते नियुक्तिपत्र प्रदान गरेको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना–२०८२ अनुसार यसअघि नै गएको माघ २१ गतेदेखि नेपाली सेनासमेत परिचालन भइसकेको छ ।

सुरक्षा योजनाअनुसार नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् भने दोस्रो तहको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । त्यसैगरी, बाहिरी सुरक्षा घेराको जिम्मेवारी नेपाली सेनाले सम्हाल्नेछ ।

निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन तीन तहको सुरक्षा व्यवस्था लागू गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया